२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न गठित समितिले तोकिएको समयभित्र प्रतिवेदन बुझाउन सकेको छैन । घटनाको अध्ययन जारी रहेको भन्दै समितिले विधि विज्ञान प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ भएका कारण प्रतिवेदन तयार गर्न नसकिएको जनाएको छ ।
त्रिवि व्यवस्थापन सङ्काय डिनको कार्यालयले एमबीएस प्रथम सत्रको ‘एम.जी.टि.५१५ : अर्गनाइजेसन बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनाको छानबिन गर्न गत साउन १० गते समिति गठन गरेको थियो । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।
छानबिन समितिका संयोजक प्रा.डा. अच्यूत ज्ञवालीले डिजिटल उपकरणमार्फत प्रश्नपत्र बाहिरिएको हो कि होइन र त्यसमा संलग्न व्यक्तिको पहिचान गर्न विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको बताए ।
उनले भने, “कुन डिजिटल डिभाइसबाट प्रश्नपत्र लिक भएको हो ? कसले प्रश्नपत्रको समाधान निकालेको हो ? भन्ने विषयमा अध्ययन गर्न प्रयोगशालालाई आग्रह गरेका थियौँ । तर रिपोर्ट आउन समय लाग्ने रहेछ ।”
समितिले व्यवस्थापन सङ्कायको डिन कार्यालय, उपकुलपति कार्यालय, परीक्षा नियन्त्रण कार्यालयको गोप्य तथा अतिगोप्य शाखा, केन्द्राध्यक्षलगायतसँग सोधपुछ तथा छलफल गरिसकेको जनाएको छ ।
समितिमा संयोजक प्रा.डा. ज्ञवालीसहित केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा सदस्य रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij