२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले)मा प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले आफ्नो पूर्वपार्टी विघटनको औपचारिक घोषणा मात्रै बाँकी रहेको दाबी गरेका छन् ।
विघटन हुन लागेको पार्टीको आयु केही बढाउन आफूलाई माओवादी केन्द्रमा फर्कन लागेको हल्ला चलाइएको रायमाझीको आरोप छ । रायमाझीले आइतबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, “सुशासन सहितको स्थिरतामार्फत मुलकमा दिगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क।केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यंत्रपूर्ण झाँसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरू र जनसमुदायमा हार्दिक अनुरोध र अपिल छ ।”
कुनै बेला बाबुराम भट्टराईको दाहिने मानिने रायमाझी भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दा माओवादीमै बसेर पुष्पकमल दाहाललाई सघाए । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमालेमा लागेका उनले आफ्ना पूर्वअध्यक्ष दाहाललाई पदलोलुप र परिवारवादमा फसेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, “क.प्रचण्डमा रहेका कुर्सी मोह, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउदै कांग्रेस (देउवा)को शरणागतमा पुगेको स्थिति छ ।” २८ फागुनमा बसेको ओली पक्षको बैठकले रायमाझी सहित २३ जनालाई एमाले स्थायी समिति सदस्यमा नियुक्त गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij