२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ। आज (बुधबार) देखि उपभोक्ताहरूले साविककै १४.२ केजी क्षमताको पूर्ण सिलिन्डर ग्यास खरिद गर्न पाउने भएका छन्।
यसअघि आपूर्तिमा आएको असहजताका कारण अस्थायी रूपमा ७.१ केजीको सानो सिलिन्डर भर्ने व्यवस्था गरिएको थियो। अब भने निगमले उक्त व्यवस्था अन्त्य गर्दै देशभर १४.२ केजीकै सिलिन्डर वितरण गर्ने निर्णय गरेको छ। हाल यसको मूल्य प्रति सिलिन्डर दुई हजार ६० रुपैयाँ कायम गरिएको छ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङको अवस्थामा सुधार आएको र उपभोक्ताहरूबाट पनि पूर्ण क्षमताको सिलिन्डरका लागि उच्च माग भएकाले यो निर्णय लिइएको हो। हाल भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहेको छ।
निगमले उपभोक्ताहरूलाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा स्टक वा भण्डारण नगर्न विशेष अनुरोध गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij