२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अन्य उत्पादनशील तथा व्यावसायिक क्षेत्रबाट कर्जाको माग सुस्ताएपछि नेपालका वाणिज्य बैंकहरूले शेयर कर्जा आफ्नो लगानी आक्रामक ढङ्गले बढाएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२\८३ को ११ महिना (साउनदेखि जेठसम्म) को वित्तीय प्रतिवेदनअनुसार बैंकहरूको सेयर कर्जा प्रवाहमा उल्लेख्य वृद्धि भएको हो। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १९ वटा बैंकले जेठ मसान्तसम्म कुल १ खर्ब ३९ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेका छन्।
यी बैंकहरुले गत आर्थिक वर्ष २०८१\८२ को जेठसम्म १ खर्ब ६ अर्ब १८ करोड ६४ लाख रुपैयाँ शेयर लोन दिएका थिए। यो हिसाबले समीक्षा अवधिमा बैंकहरुले प्रवाह गरेको शेयर लोन अघिल्लो वर्षको तुलनामा ३१.६३ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै शेयर लोन दिने बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले एनएमबी अगाडि रहेको छ। अघिल्लो वर्षको जेठसम्मको तुलनामा समीक्षा अवधिमा १६ वटा बैंकबाट गएको शेयर लोन बढेको छ भने ३ वटाको घटेको छ।
चालु आर्थिक वर्षको जेठसम्म नबिल बैंकले १७ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको जेठसम्मको तुलनामा १६.२९ प्रतिशतले बढी हो।
दोस्रो धेरै शेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष जेठसम्म ११ अर्ब ६० करोड २७ लाख रुपैयाँ शेयर लोन दिएको बैंकले समीक्षा अवधिसम्म २५.३१ प्रतिशतले बढाएर १४ अर्ब ५३ करोड ९० लाख रुपैयाँ पुर्याएको छ।
कुमारी बैंकले चालु वर्षको जेठसम्म १० अर्ब ४४ करोड १२ लाख रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्ष जेठसम्ममा बैंकले ९ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको शेयर लोन १०.१५ प्रतिशतले बढेको छ।
सबैभन्दा कम शेयर लोन दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने नेपाल बैंकको १४.३४ प्रतिशत, सिटिजन्स बैंकको १५.१५ प्रतिशत र नेपाल एसबीआईको १४.५० प्रतिशत घटेको छ। कर्जा प्रवाहको वृद्धिदर १५३.५६ प्रतिशतका साथ एनएमबी बैंक अगाडि रहेको छ।
बजारमा पर्याप्त तरलता भए पनि उद्योग, व्यापार र उत्पादनमूलक क्षेत्रबाट कर्जाको माग नआएपछि बैंकहरूले सुरक्षित र चाँडो प्रतिफल दिने माध्यमका रूपमा सेयर धितो कर्जालाई प्राथमिकता दिएको बैंकिङ विज्ञहरू बताउँछन्। राष्ट्र बैंकले शेयर कर्जामा लिएको केही खुकुलो नीतिका कारण पनि बैंकहरूलाई यो क्षेत्रमा आक्रामक हुन सहज बनाएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij