२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक कार्ययोजना तथा कृषि बीमा प्रवर्द्धन कार्यक्रम अन्तर्गत कोहलपुर उपशाखा कार्यालयको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १३ मा एक दिने कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले कृषि तथा पशुपालन क्षेत्रमा प्राकृतिक प्रकोप, रोगव्याधि तथा अन्य विभिन्न जोखिमबाट किसानलाई आर्थिक सुरक्षा प्रदान गर्न कृषि तथा पशुपन्छी बीमाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले किसान तथा पशुपालकहरूलाई बीमाको दायरामा आबद्ध भई आफ्नो उत्पादन तथा व्यवसाय सुरक्षित बनाउन आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपालगञ्ज शाखाका शाखा प्रमुख विवेक भण्डारीले कम्पनीले कृषि तथा पशुपन्छी बीमामार्फत कृषकहरूलाई प्रदान गर्दै आएको सेवा, सुविधा, बीमा प्रक्रिया, दाबी व्यवस्थापन तथा बीमाको महत्वबारे विस्तृत जानकारी दिए ।
उनले कम्पनीले कृषकको हितलाई प्राथमिकतामा राख्दै सहज, छिटो र भरपर्दो सेवा प्रदान गरिरहेको उल्लेख गर्दै कृषि बीमाको पहुँच अझ व्यापक बनाउन यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी कोहलपुर नगरपालिका कृषि शाखाका पशु प्राविधिक लोकेन्द्र बि.सी. तथा डिल्ली बहादुर खड्काले पशुपालन व्यवसायमा देखिने विभिन्न जोखिम, रोग नियन्त्रण, जैविक सुरक्षा तथा आधुनिक पशुपालन व्यवस्थापनसँगै बीमाको आवश्यकताबारे प्राविधिक जानकारी प्रदान गरे ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ र १३ का किसान, पशुपालक तथा कृषि व्यवसायी गरी ४७ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाकोआवश्यकता, बीमा गर्ने प्रक्रिया, दाबीका लागि आवश्यक कागजात, जोखिम व्यवस्थापन तथा कम्पनीले उपलब्ध गराउने सेवासम्बन्धी अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागीहरूले आफ्ना जिज्ञासा तथा अनुभवहरू खुलस्त रूपमा राखेका थिए भने सम्बन्धित विषयविज्ञहरूले त्यसको समाधान गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij