२०८२ भाद्र ३ गते मंगलवार
गत वर्षदेखि नै विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (Covid-19) का कारणले हामी आज अत्यन्तै जटिल र विषम परिस्थितिमा छौँ । कोरोनाकै कारण नेपालमा पनि ठुलो धनजनको क्षति हुनुको साथै स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमा पुग्नगएको क्षतिले हामी सबैलाई मर्माहत तुल्याएको छ भने अर्कातिर दिनप्रतिदिन मानवीय क्षति समेत भइरहेको छ । संक्रमितको संख्या दैनिक उकालो लागेको छ । संक्रमित बिरामीहरूले अक्सिजन, औषधि, बेड लगायत सामान्य स्वास्थ्य सुविधा पनि अस्पतालबाट पाउन सक्ने अवस्था छैन । मृत्युलाई अगाडि देख्दा पनि बिरामी निरीह भएर उपचारका अभावमा छट्पटाइ रहेको अवस्था छ । संक्रमितहरूको आफ्नै पिडा र बाध्यता छ तर उनीहरूका लागि उपयुक्त स्वास्थ्य सम्बन्धि साधन र प्रयाप्त औषधि छैन । सरकारसंग पुर्ब तयारीको निम्ति प्रशस्त समय थियो । तर सत्ता र शक्तिको छिनाझपटीमा सरकार अल्मलिंदा मूख्य दायित्वबाट सरकार च्यूत भयो, जनताको नजरमा सरकार गि¥यो । यस्तै विषयमा अल्झिदा अहिले स्वास्थ्यको दृष्टिले संकटपूर्ण अवस्थामा पुग्यो । महामारीको त्रासदीपूर्ण कारणले नागरिकहरू घरभित्रै बस्न बाध्य हुनुपर्यो । प्रायजसो घरबाहिर बस्ने बानी परेकोले घरमा समय बिताउन गाह्रो भएको छ । यो बेला मानिसहरू अन्य काम गर्नुको सट्टा सामाजिक संजालको दुरूपयोग गरिरहेका छन् । सामाजिक संजाल जस्तै फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि आज आएर हाम्रो जिवनका अभिन्न अङ्ग बनेका छन् तर सामाजिक संजालको सदुपयोग कसरी गर्ने र किन गर्ने भन्ने कुरा बुज्न जरुरी छ । नेपाल जस्तो थोरै जनसंख्या भएको मुलुकमा सामाजिक संजालका प्रयोगकर्ता एक करोडको हाराहारीमा छन् र यो क्रम निरन्तर बढ्दो छ । वर्तमान परिवेशमा सामजिक संजालको प्रयोगले ब्यक्तिलाई एकांगी बनाएको छ । असमाजिक बनाएको छ ।
हाल कोरोना महामारीको दोस्रो लहर चलिरहँदा केही मानिसहरू त्रसित र मृत्युको दोसाँधमा छट्पटाइरहेको बेला छ भने केही ब्यक्तिहरू सामाजिक संजाल मार्फत आतंक मच्चाइरहेका छन् । यसो गर्नुको सट्टा कोरोना जितेर आफुले बिरामी अवस्थामा भोगेका र अनुभव गरेका विषयमा केन्द्रीत रहेर आफू बाच्न सफल भएको कुरा अरुमापनि पुर्याउने बानी बसालौं ता कि तपाईंको सकारात्मक कुराले बिरामीलाई हौसला मिल्नेछ । २०७८ साल जेठ ९ गते पनि यस्तै अपत्यारिलो खबर हास्य टेलिसिरियल “हल्का रामाइलो” का चर्चित कलाकार बल्छी धुर्बे ( मरिचमान श्रेष्ठ ) को कोरोनाको कारण निधन पूरा पढ्नुहोस् भनेर सामाजिक संजालमा एकाएक मिडियाले पोस्ट गर्यो र श्रद्धाञ्जली दिनेको ओइरो लाग्यो । तर यो खबर झुटो भएकाले कलाकार बल्छिले त्यही दिनमै लाइभमा जोडिएर आफ्नो घटना नभएको र आफू सकुशल रहेको यही सामाजिक संजाल बाट जानकारी गराएका थिए। त्यसको केही दिन लगतै अर्का लोकप्रिय गायक पशुपति पराजुलीको पनि एउटा “म मरें भने” बोलको गितमा गरिएको सुटिङको फोटोलाई लिएर कोरोनाको कारण पशुपती पराजुलीको यो हालत भनेर सामाजिक संजाल मार्फत पोस्ट गरिएको थियो । त्यस्तै अर्का विवेकशील पार्टीका नेता उज्वल थापाको फोटो राखेर निधन प्रति श्रद्धाञ्जलीको प्रचार गर्ने र मानवीय संबेदनामा खेल्ने पात्रहरू पनि धेरै देखिएका छन् भने अर्कातिर कुनै पत्रकार महोदयहरू भ्रममा नपरौ यो खबर झुट हो भन्दै मानवीय भावना पनि देखाएका छन् । यसरी अनुमती बिना र सोच बिचारै नगरी अरुको ब्यक्तिगत जीवनमा असर पुर्याउने काम जो कोहिले नगरौं । मेरो यो लेखबाटै पत्रकार महोदयहरू प्रति विनम्र अनुरोध छ । कसैको व्यक्तिगत जीवनमा हानी हुनपुग्ने झुटा समाचारहरू विलकुल पोस्ट नगरौं । मृत्यु जो सुकैको होस् यो संबेदनशील घटना हो । ब्यक्तिको मृत्यु हुन नपाइ मृतकका आफन्त साथिभाइहरूले मृतकका आफन्तको सहमति बिना सामाजिक संजाल मार्फत खोजी खोजी फोटो राखेर श्रद्धाञ्जली दिन हतारो गर्छन् ।
मृतकका कोही आफन्त टाढा बस्ने हुन सक्छन् उनीहरूलाई कुनै बाहना पारेर बोलाएको हुन सक्छ आफन्तहरू प्रेसर हाइ, पेनिक अट्याक, मुटुरोगी आदि समस्याका हुन सक्छन् । त्यसैले तपाईंको एक श्रद्धाञ्जली पोस्ट फेसबुकमा देख्न सक्छन् यो बेलामा आफन्तलाई पर्न सक्ने मानसिक , शारिरीक पीडा, भावनात्मक चोट पुग्नुका साथै अकल्पनीय घटना घट्न सक्ने हुँदा त्यसको जिम्मेवारी कस्ले लिने लिने ? प्रश्नचिन्ह खडा हुन्छ ।
सूचना सही हो कि गलत भन्ने सोच्दैनसोची सेयर गर्न समाजका पढेलेखेका वर्गका ब्यक्ती समेत अगाडि सर्नु उदेक लाग्दो विषय हो । सामाजिक संजालका धेरै नेपाली प्रयोग कर्ताले आफुले गर्ने पोस्ट सत्य भए नभएको खासै सरोकार राख्दैनन् । विना अर्थका पोस्टले समाजमा कस्तो असर पार्छ भन्ने ख्यालै गर्दैनन् । कसैको मृत्यु भयो कि मृत शरीरको छेउमै उभिएर तस्बिर लिने अनि समाजिक संजालमा राख्नु संबेदनहीनताको पराकाष्ठा हो । अझै केही तस्बिर त हेर्न नसकिने विभत्स दृश्य, दैबी प्रकोपमा परेकाहरूको उद्धारका क्रममा खिचिएका विभत्स, निरासिला तस्बिरहरू राख्ने ब्यक्ती बास्तबमा राम्रो ज्ञान भएका ब्यक्ती होइनन् । त्यति मात्र नभएर तिनै विभत्स तस्बिरहरूलाई लिएर यो तस्बिर देखेर पनि नदेखेजस्तो नगर्नुहोला अन्यथा नराम्रो हुनेछ वा जति सेयर गर्नु भयो तपाईंको मनोकांक्षा पूरा हुनेछ भनेर देबि देबताको तस्बिर पनि राखिएका हुन्छन् । वास्तवमा यो सरासर ब्यक्तिको आस्थामा गरिएको खेलवाड हो । भनिएको छ– विद्युतिय कारोबार ऐन २०६३ मा विद्युतीय संचार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रशारण गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने विभिन्न आपराधिक काम वा हैरानी अनि अपमानजनक, अमर्यादित किसिमका पोस्टहरू पोस्ट गर्ने गराउने ब्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ भन्ने व्यवस्था पनि छ । तर पनि कानुनी कार्यान्वयन भने शून्य नै छ ।
सकारात्मक पक्षहरू
सामाजिक संजालका सकारात्मक प्रयोगका नवितम उदाहरणहरू प्रयाप्त मात्रामा देख्न र सुन्न पाइन्छ । सामाजिक संजालको प्रभावकारी ढङ्गले प्रयोग हुँदा कतिपय गरिव र अशक्त नागरिकको उपचार खर्चका लागि लाखौं रूपैयाँ संकलन भएका थुप्रै उदाहरण पनि छन् । केही रोजगारमुलक बिज्ञापनहरू पनि हामी यसबाट नै सूचना पाउछौं । आफुलाइ मनपरेको समानहरू घर बसिबसि सपिङ्ग गर्छौ । २०७२ सालको भुकम्पमा देशविदेश बाट सहयोग जुटेको हामिले भुलेका छैनौं । नेपाल प्रहरीले पनि यहि सामाजिक संजाललाई प्रभावकारी ढङ्गले सदुपयोग गरेको पाइन्छ । सुरक्षा उद्धारका लागि सामाजिक संजालले सहयोगी भुमिका खेलेको छ । मिडियाका लागि रिपोर्टरले दिन नसकेका सूचना तथा तस्वीर र भिडियो यहाँ उपलब्ध हुन सक्छन् । सन्सारको जुनसुकै मुलुकको घटनाहरू श्रब्य दृश्य सहितको समाचार छिनभरमै आफू बसेको ठाँउमा सुन्न र देख्न पाएका छौं । यतिमात्र होइन सन्सारका जुनसुकै कुनामा रहेका आफन्त साथीभाइसङ्ग जुन सुकै सिलसिलामा जुन बेलापनी प्रत्यक्ष कुराकानी गर्न पाएका छौं । फुर्सद हुनेका लागि त झन् समय बिताउने माध्यम बनेको छ। मानिसहरू घन्टौं रमाइरहन सक्छन् । पौरखिहरू घरमै बसिबसि आफ्ना प्रतिभाहरू पोस्ट गर्ने र हेर्ने गरेका छन् । यो सबै इन्टरनेट, फेसबुक र सामाजिक संजालको देन हो । विचार आदानप्रदान गर्नेहरूका लागि यो बहस गर्ने स्थान बनेको छ। विशिष्ट पत्रकारहरूका लागि त सूचनाको स्रोत नै बनेको छ । आफुदेखी टाढा हुनेहरूका लागि यसले नजिक भएको आभास गराएको छ । अध्ययन, अनुसन्धान एवं लेखन कार्यका लागि यसले थप सघाउ पुर्याएको छ । आफ्ना बिचार भावनाहरू राख्न सजिलो भएको छ । ब्यक्ति, परिवार, समुदाय, कार्यालय ब्यापार व्यावसाय सबैका लागि हरेक काममा प्रयोग गर्न सकिने भएकाले यसको सही सदुपयोग गरौँ भन्ने अपेक्षा छ ।
नकारात्मक पक्षहरू
विभिन्न फाइदाजनक कुरा हुँदाहुँदै पनि कहिले काहीं त्यही सामाजिक संजाल हाम्रो लागि समस्या बन्न पुगेको छ । हामीले बुझेर होस् या नबुझी हाम्रा ब्यक्तिगत र नीजि जानकारी सामाजिक संजालमा राख्ने गर्छाै । जसलेगर्दा गलत सोच बोकेका ब्यक्तिले यसको भरपुर फाइदा लिने गर्छन् र उल्टै तपाईंलाई सिकार बनाई हानी नोक्सानी पुर्याउन सक्छन् । फेक आइडी बनाइ कसैलाई झुक्याउने, झुटा भ्रामक कुराहरू लेख्ने, ब्यक्तिगत स्वतन्त्रता र गोपनीयताको अधिकार माथी हनन् गर्ने काम यो संजालले गरेको छ । पछिल्लो समयमा सामाजिक संजालका कारण आत्महत्या, चोरी तस्करी जस्ता कुसंस्कारहरू दिनप्रतिदिन बढ्दै गएको छ । सामाजिक संजालको लतमा फसेका किशोर किशोरीहरू इन्टरनेटको माध्यमबाट विभिन्न अश्लिल फिल्महरू हेर्नुका साथै अश्लिल भिडियोहरू सेयर गर्ने, पढ्ने, एक अर्कालाई मन परोस् या नपरोस् जबरजस्ती म्यासेज गर्ने र यसैको कुलतमा परि एक अर्कामा प्रेम गर्ने अनि कम उमेरमै शारीरिक सम्बन्ध कायम राख्ने प्रवृत्ति छ । अर्को कुरा दिनभरी काम गरेर जीविकोपार्जन गर्ने मानिस समेत सामाजिक संजालको लतमा परेर बिहान बेलुका छाक टार्ने पैसाले मोबाइल रिचार्ज गर्ने र अनावश्यक समय यसैमा खर्च गरेका छन् । उस्तै परे बुवाआमाले खाजा खान दिएको पैसा पनि नखाइनखाइ मोबाइल रिचार्ज गरि अनावश्यक च्याटिङ गर्ने केटाकेटीको पनि ठुलै जमात छ । सामाजिक संजालको प्रयोग अध्ययन अनुसन्धान भन्दा पनि मनोरञ्जनको साधनको रूपमा बढी प्रयोग गरिएको छ । सामाजिक संजालमा लिप्त भएकाहरूमा आफ्नो परिवारलाई दिने समय छैन भने बच्चाका आमाहरूलाई बच्चाको हेरबिचार गर्ने फुर्सद छैन । जसका कारण छोराछोरी विभिन्न कुलतमा फसेका छन् । मानिसमा रहेको मानबीय संवेदना यतिसम्म हराउँदै गएको छ कि आफुले कहिले नदेखेको ब्यक्तीसङ्ग च्याटमा बोलेकै भरमा नाङ्गो हुन तयार हुन्छन् । कतिपय युवा युवतीहरू सामाजिक संजालकै कारण झुटो बिबाह गर्न तयार हुन्छन् भने कतिपय मानसिक हिंसाको सिकार र आत्महत्या गर्न बाध्य हुन्छन् । यसैले यस्ता नोक्सानीबाट बच्नलाई कानुन बिपरित गरिएका अपराधीक क्रियाकलाप गर्ने ब्यक्तिलाई कानुनको कठघरामा उभ्याइ कानुन बमोजिम कारबाही गर्नु पर्ने जरुरी देखिएको छ ।
(लेखक त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत विद्यार्थी हुन् ।)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij