२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाका कारण नेपालको वित्तीय क्षेत्रमा ठूलो हलचल पैदा भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दाका कारण दुईवटा पुनर्बीमा र पाँचवटा लघु बीमा कम्पनीका गरी ७ जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्वतः निलम्बनमा परेका छन्। यसका साथै नेपाल बीमा प्राधिकरणका पूर्वनेतृत्व र सरकारी उच्च अधिकारीसमेत यसमा तानिएका छन्।
निलम्बनमा पर्नेहरूमा नेपाल रिइन्स्योरेन्सका सीईओ सुरेन्द्र थापा, हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल,लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव, क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका सीईओ चिरायू भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्रनाथ रिमाल र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष समेत रहेका सहसचिव मदन दाहाल समेत निलम्बनमा परेका छन् भने अर्का पूर्वअध्यक्ष शरद ओझामाथि पनि मुद्दा दायर भएको छ ।
नेपालको कानुनी व्यवस्था अनुसार कुनै पनि सार्वजनिक वा नियामक पदमा रहेका व्यक्तिमाथि फौजदारी कसुर (सम्पत्ति शुद्धीकरण) मा अदालतमा मुद्दा दायर भएको अवस्थामा, सो मुद्दाको अन्तिम फैसला नभएसम्म सम्बन्धित व्यक्ति पदबाट स्वतः निलम्बित रहने व्यवस्था छ। विशेष अदालतमा मुद्दा विचाराधीन रहेकाले यी सबै अधिकारीहरूले तत्कालका लागि आफ्नो कार्यभार सम्हाल्न पाउने छैनन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij