२०८२ भाद्र १२ गते बिहिवार
भक्तपुर । भक्तपुर नगरपालिकामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको संख्या १६ हजार ५२ पुगेको छ ।
नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा. रत्नसुन्दर लासिवाले बताए ।
नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत वैशाख ४ गतेदेखि १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको हो ।
‘जेठ ५ गतेदेखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरूमा खोप लगाइएको थियो,’ डा। लासिवाले भने, ‘जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा–१० कार्यालय भवनपछाडि नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौं ।’
डा. लासिवाले खोपको पहिलो मात्रा लगाएर कोभिड संक्रमण भई स्वास्थ्यलाभ गरिरहेकाहरूलाई १ महिना पूरा नभई दोस्रो मात्रा दिन नहुने प्रस्ट पार्दै उनीहरूका लागि अलग बन्दोबस्त गरिने जानकारी दिए ।
यसअघि भारतीय खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई दोस्रो मात्रा खोपको सूचना नआएकाले केही समय धैर्य गर्न पनि उनले आग्रह गरे ।
नगरपालिकाले भेरोसेलको पहिलो मात्रा २१ हजार ७२१ जनालाई र कोभिशिल्डको दोस्रो मात्रा २ हजार ४३९ लाई दिइसकेको जनस्वास्थ्य स्रोतले बताएको छ । भक्तपुर नगरबासीसँगै छिमेकी नगरपालिका र छिमेकी जिल्लाका वासिन्दाले समेत भेरोसेलको पहिलो मात्रा खोप लगाएको र अधिकांशले आफ्नो नजिकको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लिएको डा। लासिवाको भनाइ थियो ।
खोपको पहिलो मात्रा लिएका सबैले दोस्रो मात्रा अनिवार्य लिनुपर्नेमा उनले जोड दिए । भक्तपुरमा १८ वर्ष नाघेका अझै पनि धेरैले कोभिड विरुद्धको खोप लगाउन बाँकी रहेको छ । ६० वर्षदेखि ६५ वर्ष उमेर समूहका कसैले पनि हालसम्म खोप लगाउन पाएका छैनन् । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij