२०८३ श्रावण २८ गते बिहिवार
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित इमिरेट्स रोडमा सोमबार भएको एक दुःखद सडक दुर्घटनामा परी सात जना श्रमिकको मृत्यु भएको छ । दुबई प्रहरीका अनुसार मृत्यु हुनेहरूमा विदेशी श्रमिकहरू रहेका छन्, जसमा केही भारतीय नागरिक समेत समावेश छन् ।
दुबई प्रहरीको ट्राफिक विभागका निर्देशक ब्रिगेडियर जुमा सालेम बिन सुवैदानका अनुसार प्राविधिक गडबडीका कारण एउटा ट्रक सडकको बीचमै रोकिएको थियो । सोही क्रममा पछाडिबाट आउँदै गरेको एक मिनीबसले गति नियन्त्रण गर्न नसकी ट्रकलाई ठक्कर दिँदा उक्त भयानक दुर्घटना भएको हो ।
प्रारम्भिक अनुसन्धानका अनुसार मिनीबसका चालकले आवश्यक ध्यान नदिएको र सुरक्षित दूरी कायम नगरेका कारण यो दुर्घटना हुन पुगेको हो ।
यस भीषण दुर्घटनामा परी ९ जना यात्री घाइते भएका छन् । घाइतेहरूमध्ये ५ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको र ४ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै उद्धार टोलीले सबै घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरेको छ ।
यूएईमा कार्यरत विदेशी श्रमिकहरू अक्सर कार्यस्थल आउन–जानका लागि साझा यातायात (मिनीबस) को प्रयोग गर्ने गर्छन् र सोही क्रममा यो दुर्घटना भएको बताइएको छ । एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij