२०८२ भाद्र ७ गते शनिवार
नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल प्रहरीको गिरफ्तारीमा परे । हिरासतबाट उनले कम्युनिस्टहरूले लोकतन्त्र नमान्ने धारणा व्यक्त गरे । यदि काङ्ग्रेस सरकारले कम्युनिस्ट नेतालाई गिरफ्तार गरेको भए उही रटान दोहोरिन्थ्यो । यो दोहोरी भनाभन सबैतिर चलिरहन्छ । कम्युनिस्टहरू भन्छन्, पूँजीवादमा लोकतन्त्र हुँदैन । काँग्रेसहरू कम्युनिस्टहरू लोकतन्त्र बिरोधी भएको बात लगाउँछन् । यसरी आरोप प्रत्यारोप लगाउदै जनतालाई भुसको बोरामा हालिएको छ बर्सौदेखि ।
लोकतन्त्र संसारको उत्कृष्ट राजनीतिक अवधारणा हो । नेपालमा पनि बृहत शान्ति सम्झौतापछि लोकतन्त्र स्थापित भएको छ । तर जीवन व्यबहारमा लुटतन्त्र छ , छुटतन्त्र छ । हुनेखानेलाई मोज छ हुँदाखानेलाई सधैं तनाव छ । जनताले भने झैँ हुन सकेको छैन । लोकको चाहना पुरा हुन सकेको छैन । जब लोकतन्त्रमा लोकको भलो हुन्न, त्यो कागजी लोकतन्त्र हो । एउटा बिम्ब छ कागजी बाघ । यस्तो बाघले टोक्दैन । त्यस्तै कागजी लोकतन्त्र कागजमा मात्र हुन्छ । जनताको हृदयमा हुँदैन ।
लेख्ने बोल्ने अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक पद्धतिको पहिलो सर्त हो । तर यहाँ यही कुराको कमी छ । अधिकार र न्यायसापेक्ष हुन्छ लोकतन्त्र तर यहाँ यही कुराको कमी छ ।
मालपोत कार्यलयमा घुस दिँदैगरेको कुनै नागरिकको अनुहारले लोकतन्त्रलाई गिज्याइरहेको छ । मेनपावर दलाललाई पैसा बुझाइरहेको कुनै नौजवान युवा जसलाइ यो देशले रोजगार दिन सकेन । त्यही युवाको मलिन अनुहारले लोकतन्त्रमा दाग लागिरहेछ ।
सामन्ती राज्यसत्ता ढल्यो भनियो, जनताको शासन चल्यो भनियो तर आम जनतालाई चयन भएको छैन । जनताको मुहारमा हाँसो छाएको छैन । इतिहासको यो गम्भीर मोडमा छौँ हामी । हाम्रो जीवन शान्ति अमनचयन र लोकतन्त्र खोजिरहेको छ । लोकतान्त्रिक पद्धतिमा कसैले पनि रुनु नपरोस् यहि छ कामना ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij