२०८२ भाद्र ४ गते बुधवार
सपोर्ट सोसाइटी बचत तथा ऋण सहकारीको बाह्रौं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा उक्त सहकारीका अध्यक्ष नेत्रप्रसाद पन्तले सहकारीले सदस्यहरूको जीवनस्तर उत्थानमा खेलेको अतुलनीय योगदानको चर्चा गर्दै आगामी दिनमा संस्था अझै दिगो, दरिलो र कामयावी हुने जिकिर गरे । उनले सो सहकारीले विगत दुईतीन वर्षमा गरेका आर्थिक प्रगतिको सङ्क्षिप्त विवरण शेयर सदस्यमाझ राख्दै उनीहरूलाई उत्साहित पारेका थिए । त्यसरी नै उपाध्यक्ष बद्रीप्रसाद तिवारीले लेखा परीक्षकको प्रतिवेदन उपर उठेका जिज्ञासाको शमन गरेका थिए । सबैले दिलैदेखि सहकार्य गर्ने आँट गरेमात्र सहकारीले आर्थिक गति लिने उनको राय थियो । आयव्ययको फेहरिस्त तथा आगामी कार्ययोजना संस्थाका कोषाध्यक्ष हरिप्रसाद तिवारीले प्रस्तुत गरेका थिए । त्यसरी नै लेखा समिति संयोजक मोहन लामिछानेले सो सहकारीले गरेका प्रगति तथा संस्थाको प्रगतिमा बाधक बनेका तत्वहरू र तिनका निराकरणका उपायबारे मन्तव्य व्यक्त गरे । सचिव तथा महाप्रबन्धक वेदप्रसाद पौडेलले दैनन्दिन देखिएका समस्या र तिनका समाधानका उपायबारे परिचर्चा गरे । कोभिड-१९ का कारण सीमित उपस्थितिमा सञ्चालित उक्त साधारण सभामा शेयर होल्डरहरूलाई १२% नगद लाभांश र ३% शेयर लाभांश वितरण गर्ने घोषणा गरिएको थियो । सहकारीका सल्लाहकार माधव घिमिरे 'अटल'ले सहजीकरण गरेको सो कार्यक्रमको नेत्रप्रसाद पन्तले समापन गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij