२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीसँग नगदमा कारोबार नगर्न वैदेशिक रोजगारमा जान चाहने युवालाई आग्रह गरेको छ। बिहीबार विभागले सूचना जारी गरी नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुर्याउन कठिन हुने भएकाले नगदमा कारोबार नगर्नु भनेको हो।
‘कुनै पनि इजाजतपत्रवाला संस्था, सो संस्थाका सञ्चालक, संस्थासँग आवद्ध कर्मचारीरप्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जानको लागि या वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्नु नगराउनु हुन अनुरोध छ,’ विभागले भनेको छ। विभागले म्यानपावर कम्पनीलाई पनि नगदमा कारोबार नगर्न नगराउन अनुरोध गरेको छ।
यससँगै वैदेशिक रोजगारमा जाने युवालाई बैंकिङ प्रणालीमार्फत मात्रै कारोबार गर्न आग्रह गरेको छ। ‘ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्थालाई प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्क वापतको रकम अनिवार्य रुपमा बैकिङ माध्यमबाट प्रयोजन खुलाई बुझाउनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ।
यससँगै वैदेशिक रोजगारीमा जाने युवालाई रकम बुझाएको प्रमाण सुरक्षित राख्न भनेको छ। सूचनामा भनिएको छ, ‘रकम बुझाएको प्रमाण, कागज तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित रुपमा राख्नुहुन समेत अनुरोध गरिन्छ।’

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij