२०८२ चैत्र १० गते मंगलवार
काठमाडौं । कालंगा हाइड्रोले आजदेखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको हो। बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँबराबरको ४९ लाख कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ।
जसमध्ये पहिलो चरणमा १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको छ।
स्थानीयलाई छुट्याइएको शेयरमध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अतिप्रभावित क्षेत्र बझाङको केदारस्युँ गाउँपालिका वडा नं ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं ६ र ८, बुंगल नगरपालिकाको वडा नं ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं १ का स्थायी बासिन्दाहरुलाई र ४ लाख ९० हजार कित्ता शेयर बझाङको केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाका स्थानीयमा छुट्याइएको छ।
यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गर्न लागेको छ।
उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा चैत २४ गते र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दन पाउनेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट र सीडीएससीको ‘मेरो शेयर’ आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij