२०८२ चैत्र ८ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ ।
काठमाडौंको मूलपानिस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै जित हासिल गरेको हो ।
२७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४५।१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो । बागमतीका लागि विवेक मगरले ३४ रन बनाए भने उत्तम मगरले २६ रनको योगदान दिए । त्यस्तै सुवास खत्रीले २७ रन तथा रिजन ढकाल अविजित २० रन जोडे ।
बलिङतर्फ एपीएफका रोहित पौडेल र अभिषेक गौतम ले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए । साथै युवराज खत्री, नन्दन यादव र कमल ऐरीले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ११४ रनको योगदान दिए । उनले १४ चौका र ३ छक्काको सहयोगमा ११४ रनको योगदान दिएका हुन ।
त्यस्तै सन्दीप जोराले ५२ रनको महत्त्वपूर्ण योगदान दिए। लोकेश बमले २९ रन, युवराज खत्रीले अविजित २६ रन बनाए भने कप्तान रोहित पौडेलले ९ रन जोडे बलिङतर्फ बागमतीका रिजन ढकालले चार विकेट लिए भने इसान पान्डेले दुई विकेट झारे । त्यस्तै सन्दिप लामिछाने र सोनु देवकोटाले समान एक एक विकेट लिए ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ ।
हिजोदेखि सुरुआत भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाख पाउँदा उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij