२०८२ भाद्र ८ गते आइतवार
साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद् विघटन भयो र चुनावको मिति घोषणा भयो। सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले सेयर बजार पनि प्रभावित हुन्छ कि भन्ने आम अनुमान र आशंका थियो। कतिपयले अब सेयर बजारमा ठूलै पहिरो आउने हल्ला पनि फिजाए। सबैले निकै चासोपूर्वक आइतबारको बजार प्रतिक्षा गरेका थिए। तर आइतबारको बजारले आम अनुमान र आशंकलाई गलत सावित गर्दै बुलिस बाटोमा दौडिएको छ।आइतबार बजार खुल्नसाथ सुरुमा ४५ अंकले ओरालो लागेको सेयर बजार एकछिनमै समालियो र हरियो मार्गतिर उन्मुख भयो।
बजार अवधिभर गजबको उत्साह देखियो। नेप्से परिसूचकले अहिलेसम्मकै उच्च विन्दु चुमेर नयाँ रेकर्ड बनाएको छ। नेप्से सूचक ३२।८१ अंकले बढेर २८२० विन्दुमा आइपुगेको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो। करिब ११ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ। २ करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।आइतबार विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको समूहमा उछाल देखिएको छ। वाणिज्य बैंकहरूमा पनि विस्तारै उत्साह देखिन थालेको छ।राजनीतिक गडबडीले सेयर बजारको बुलिस लय र गतिलाई खासै फरक परेको देखिएन।मौसमजस्तै परिवर्तन भइरहने नेपालको राजनीतिक आकाशलाई अब लगानीकर्ताहरूले पनि बेवास्ता गर्न थालेका छन्।
संसद् व्यूँतिए पनि र चुनाव गए पनि खासै फरक नपर्ने आत्मविश्वास लगानीकर्तामा देखिन्छ। बजारमा पर्याप्त पैसा र राष्ट्र बैंकलगायत नियामक संस्थाको सकारात्क दृष्टि कायम रहँदासम्म डराउनुपर्ने अवस्था नरहेको विश्लेषण विज्ञहरूले गरेका छन्। यसअघि पुस ५ गते केपी ओलीले संसद् विघटन गरेपछि खुलेको पहिलो दिनको बजार ठूलै पहिरो गए पनि दोस्रो दिनदेखि फेरि उछाल देखिएको थियो। त्यो उछाल निरन्तर कायम रह्यो। अफ सिजन मानिने पुस माघमा पनि सेयर बजारले बुलिस बाटो छोडेन। नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिसमेत रहेका सेयर बजारका विज्ञ तथा व्यवसायी अम्बिका प्रसाद पौडेल लगानीकर्ताहरूको आत्मविश्वास र नियामक निकायहरूको दृढ प्रतिवद्धताका कारण सेयर बजार राजनीतिक उथलपुथलबाट खासै प्रभावित नभएको बताउँछन्। उनी भन्छन्, अहिले बजार घट्नुपर्ने कुनै कारण छैन। त्यसै पनि वैशाखपछिको समय सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। सबै कम्पनीहरूको कमाइ बाँड्ने बेला आएको छ। अब बजारको बुलिस रनलाई कसैले रोक्न सक्दैन।ु
लगानीका हिसाबले सबैभन्दा सुरक्षित क्षेत्र मानिएको बैंकिङको सेयर अझै पनि खासै बढेको छैन। बैंकिङलाई समग्र सेयर बजारको फाउन्डेशन मानिन्छ। राम्रो कमाइ भएका बाणिज्य बैंकहरूको सेयर भाउ अहिले पनि तुलानात्मक रुपमा अन्डरभ्यालुड रहेकोले अब लगानीकर्ता यो सेक्टरमा आकर्षित हुने संभावना छ। बैंकिङको सेयर राम्ररी नबढ्दासम्म सेयर बजारको बुलिस रन जारी रहने विश्लेषण विज्ञहरूले गर्दै आएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij