Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

ट्रम्पको चीन भ्रमण अन्योलमा

ट्रम्पको चीन भ्रमण अन्योलमा


  • 407
    Shares

    • images
    ट्रम्पको चीन भ्रमण अन्योलमा

    काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ । बेइजिङले वासिङ्टनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समयतालिका सार्वजनिक गर्न भने मौनता अपनाएको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा दुवै देशबीच ट्रम्पको सम्भावित भ्रमणबारे संवाद जारी रहेको बताए । यद्यपि उनले मिति वा औपचारिक तालिकाबारे कुनै स्पष्ट जानकारी दिन अस्वीकार गरे । 

    सुरुमा मार्च ३१ देखि तय गरिएको यो भ्रमण अमेरिका–चीनबीच बढ्दो रणनीतिक र व्यापारिक प्रतिस्पर्धाको सन्दर्भमा निकै महत्त्वपूर्ण मानिएको थियो । विशेषगरी ट्रम्प प्रशासनको आक्रामक भन्सार (ट्यारिफ) नीतिले दुई देशबीचको सम्बन्ध थप जटिल बनाएको छ ।

    तर, मध्यपूर्वमा सुरु भएको युद्धले उक्त योजना अवरुद्ध भएको छ । ट्रम्पले मङ्गलबार आफ्नो चीन भ्रमण ‘पाँच वा छ हप्ता’ भित्र हुने सङ्केत गरेका थिए । यसअघि आइतबार उनले होर्मुज जलडमरूमध्य खुलाउन चीनले सहयोग गर्ने वा नगर्ने कुराले भ्रमणको मिति निर्धारणमा असर पार्न सक्ने बताएका थिए । 

    तेहरानमा अमेरिकी–इजरायली आक्रमणपछि इरानले उक्त रणनीतिक जलमार्ग प्रभावकारी रूपमा अवरुद्ध गरेको छ । यसले विश्व ऊर्जा आपूर्ति र कूटनीतिक समीकरणलाई थप संवेदनशील बनाएको छ । ट्रम्पले त्यसको भोलिपल्ट भ्रमण ढिलाइ हुने सम्भावना स्वीकार्दै युद्धकै कारण आफूलाई अमेरिकामै रहनुपर्ने अवस्था रहेको स्पष्ट पारेका थिए । 

    चीनले भने आफ्नो परम्परागत अभ्यासअनुसार उच्चस्तरीय भ्रमणहरूको मिति अग्रिम रूपमा सार्वजनिक नगर्ने नीति कायम राख्दै यसबारे औपचारिक पुष्टि नगरेको जनाएको छ ।  

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १७:३०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij