२०८२ फाल्गुण २६ गते मंगलवार
काठमाडौं । मध्यपूर्वमा जारी सैन्य तनावका कारण भारतमा खाना पकाउने एलपीजी ग्यासको गम्भीर सङ्कट उत्पन्न भएको छ।
इरान र इजरायल-अमेरिकाबिचको बढ्दो द्वन्द्वले ग्यास आपूर्ति गर्ने समुद्री मार्ग अवरुद्ध भएपछि भारतका १० वटा ठुला राज्यहरूमा व्यावसायिक ग्यासको आपूर्तिमा पूर्ण रोक लगाइएको हो।
यस निर्णयले मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, पन्जाब, हरियाणा र दक्षिण भारतीय राज्यहरू तेलंगाना तथा आन्ध्र प्रदेशका लाखौँ होटल, रेस्टुरेन्ट र उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। ग्यास अभावको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा समेत पर्न थालेको छ।
सरकारले घरेलु ग्यासको मौज्दात जोगाउन नयाँ नियम लागू गर्दै अब एउटा सिलिन्डर लिएको २५ दिनपछि मात्र अर्को सिलिन्डर बुक गर्न पाउने व्यवस्था गरेको छ।
संकटको मुख्य कारण विश्वको २० प्रतिशत पेट्रोलियम ढुवानी हुने स्ट्रेट अफ होर्मुज जलमार्ग लगभग बन्द हुनुलाई मानिएको छ। इरानसँगको तनावका कारण यो रुट असुरक्षित भएपछि तेलका ट्याङ्करहरू ठप्प भएका छन्। भारतले आफ्नो आवश्यकताको ५४ प्रतिशत ग्यास यही बाटो भएर मगाउने गर्दछ। त्यस्तै, कतारमा रहेका एलएनजी प्लान्टमा ड्रोन आक्रमण भएपछि उत्पादन रोकिएकाले भारतमा हुने आयातमा ४० प्रतिशतले गिरावट आएको छ।
आपूर्तिमा आएको गिरावटकै बिच सरकारले ७ मार्चदेखि लागू हुने गरी ग्यासको मूल्यमा समेत भारी वृद्धि गरेको छ। घरेलु ग्यास सिलिन्डरमा ६० रुपैयाँ र कमर्सियल सिलिन्डरमा ११५ रुपैयाँ मूल्य बढाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij