२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन-पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४६.७१ प्रतिशतले बढेको छ।
चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ६ अर्ब ५७ करोड २६ रुपैयाँमा भएको छ। बैंकको सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढी छ। बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ। बैंकले दोस्रो त्रैमाससम्म २२.५० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।
चुक्तापुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ र रिजर्भमा ३३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ रहेको छ। बैंकले ८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी २.४२ प्रतिशतले बढेको छ।
बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात घटेर ०.८८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.७० प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर ३५.०४ रुपैयाँ कायम भएको छ। पीई रेसियो १३.९१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २३५.६४ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij