२०८२ भाद्र २ गते सोमवार
उदयपुर । पछिल्लो २४ घण्टा उदयपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीका अनुसार ३४, ८५ वर्षीय पुरुष र ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
सुबेदीका अनुसार कोरोना संक्रमणपछि होमआइसोलेसनमा बस्दै आएका त्रियुगा नगरपालिका ११ की ५० वर्षीया महिलाको मंगलबार दिउँसो मृत्यु भएको हो । दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
त्यसैगरी चार दिनअघि विराटनगरस्थित नोवेल अस्पतालमा कोरोना पोजिटिभ देखिएपछि होमआइसोलेसनमा बस्दै आएका त्रियुगा नपा १२ का ३४ वर्षीय युवाको उपचारका लागि मदन भण्डारी आँखा अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । अस्पताललाई जिल्ला कोभिड व्यवस्थापन समितिले आइसोलेसन वार्ड बनाइ उपचारका लागि राख्दै आएको थियो ।
त्यस्तै कटारी नगरपालिका ३ का ८५ वर्षीय वृद्धको सोमबार राति उपचारका क्रममा सिरहाको फुलकुमारी अस्पतालमा मृत्यु भएको छ । जेठ १ गते कोरोना पोजिटिभ देखिएपछि उनी अस्पतालमा उपचार गर्दै आएका थिए ।
जिल्लामा हालसम्म २ सय ४७ पुरुष र १ सय ८७ महिला गरी चार सय ३४ जना संक्रमित भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उमेश लुइटेलले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij