२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपाली काँग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै काँग्रेस विभाजित भएको छ ।
निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ । काँग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानुनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताए ।
उनले अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने बताए ।
उनले भने ‘अदालत जान त जसलाई पनि खुला छ नि । अदालत त्यसकै लागि त गठन गरिएको हो । कोही आए भने, उजुरी लिएर कानूनसम्मत छ की छैन, संविधानसम्मत छ की छैन भनेर जाने न हो ।’
यता, एमाले उपाध्यक्ष रघुजी पन्तले काँग्रेसको यो फुटलाई देश, जनता र लोकतन्त्रका लागि नकारात्मक भएको बताए । देश जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा काँग्रेस फुट्नु सुखद् कुरा नभएको उनको भनाइ छ ।
उनले भने ‘देश जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा काँग्रेस फुट्नु सुखद् कुरा होइन ।’
निर्वाचन आयोगले शुक्रवार गगन थापा पक्षलाई पार्टीको आधिकारिकता प्रमाणित गरेको छ । तर संस्थापन पक्षले भने निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको र आफूहरू सर्वोच्च अदालतमा उजुरी लिएर जाने बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij