२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपाली काँग्रेसले शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको खाँचो रहेको बताएको छ ।
शनिवार बानेश्वरमा बसेको काँग्रेसको केन्द्रीय समितिको बैठकले देउवाको अभिभावकिय भूमिकामा बस्न आग्रह गरेको हो । काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेसलाई देउवाले पुर्याएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले आगामी दिनमा पार्टीलाई देउवाको अभिभावकिय भूमिका निरन्तर रहिरहने विश्वास गरेको पनि बताए । बैठकले निवर्तमान केन्द्रीय कार्यसमिति र अन्य नेताहरूलाई पार्टीको काममा फर्किन आग्रह समेत गरेको छ । पार्टीलाई अझ बढी बलियो बनाउन आ–आफ्नो तहबाट महत्त्वपूर्ण योगदान पुर्याउन सबैसँग आग्रह गरिएको प्रवक्ता चालिसेले जानकारी दिए ।
उनले पाटीले निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न लागेको पनि जानकारी दिए । निर्वाचनको लागी छोटो समय रहेकोले निर्वाचनसम्बन्धी काम गर्नको लागी तत्कालै संसदीय बोर्डको बैठक बस्ने उनले बताए । बोर्डको बैठक बसेर उम्मेदवार छनौट लगायतका काम गर्ने जानकारी दिए । उनले पार्टी अहिले निर्वाचनमा केन्द्रित भएको पनि बताए ।
उनले भने ‘उहाँले नेपाली काँग्रेसलाई पुर्याउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको छ । उहाँको आगामी दिन हाम्रो पार्टीलाई उहाँको अभिभावकिय भूमिका निरन्तर रहिरहनेछ भन्ने विश्वास र आग्रहको साथ आजको बैठकले उहाँलाई अनुरोध र आग्रह गरेको छ । सम्मान पनि गरेको छ । त्यसैगरि निवर्तमान केन्द्रीय कार्यसमितिका साथीहरू र हाम्रा अग्रज नेताहरूलाई पनि पार्टीको यो घडीमा पार्टीलाई अझ बढी बलियो बनाउन, इतिहासको जस्तै काँग्रेस पार्टी बनाउनको लागि आ–आफ्नो तहबाट महत्त्वपूर्ण योगदान पु¥याउनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ । यी विशेष निर्णय हुन् आजका यी बाहेक हामीले आजदेखि निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न लागेका छौँ । किनभने हामीसँग छोटो समय छ । छोटो समयमा धेरै टाढाटाढाका साथीहरूको निर्वाचनसम्बन्धी निर्णय लिनुपर्नेछ । उम्मेदवार छनौट गर्नुपर्नेछ । पार्टीको संसदीय बोर्डको बैठक हामी तत्कालै आजैदेखि बस्नेछौँ र चाँडो भन्दा चाँडो काम गर्नुपर्ने भएको हुनाले अहिले हामी काममा बढी केन्द्रित छौँ ।’
उनले निर्वाचन आयोगले काँग्रेसको विधान र संविधानअनुसार नै आफूहरूलाई आधिकारिकता प्रदान गरेकोले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गरे । शेरबहादुर देउवा पक्षका नेताहरूले शनिवार नै बैठक बसी आयोगको निर्णय विरुद्धमा सर्वोच्च जाने निर्णय गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij