२०८२ माघ ७ गते बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताएकी छन् । शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले भवन निर्माण संहितामा विशेष ध्यान दिनसके भूकम्प लगायतका विपदबाट बच्न सकिने समेत बताइन् । उनले भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्र नभइ हरेक नागरिकको रहेको बताइन् । भवन निर्माण गर्दा इन्जिनियरिङ पाटो पनि छोड्न नहुने र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्ने उनकाे भनाइ थियाे । उनले रैथाने प्रविधि र सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको जिकिर समेत गरिन् ।
उनले भनिन्, ‘सूचना प्रविधिको प्रयोगले भूकम्पको पूर्वसूचना प्रणालीसहित बचाउका उपायहरु प्रयोग गरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको भवन निर्माण संहिता रहेको छ । भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्रै होइन, यो नागरिककाे पनि हाे । याे सरकारको कार्यक्रम भनेर सोचिदिने भन्दा पनि हाम्रा लागि हामीले मान्नुपर्ने काम हो भनेर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । यो दायित्वभित्र हामी नै हौँ भनेर बुझ्न जरुरी छ । हामीले हाम्रा संरचना पूर्ण रुपमा इन्जिनियरिङ पाटो पनि छोड्नु हुँदैन र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्छ । विशेष गरी रैथाने प्रविधिलाई सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको छ ।’
उपप्रमुख डंगोलले नारामा मात्र नभइ पूर्वाधार काम गरेर देखाउनुपर्नेमा जोड दिइन् । उनले प्रत्येक वर्ष नारामा मात्र नभइ नारा कार्यान्वयन गरी वार्षिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij