२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ अन्तर्गत सञ्चालनमा रहेको फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ ।
बैंकले सोमबार आयोजना गरेको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौँ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका चौथो र पाँचौँ समूहका ४० जना सहभागीलाई नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले प्रमाणपत्र वितरण गरेका छन् ।
कार्यक्रममा अध्यक्ष पौडेलले नबिल एसएसईले युवालाई उद्यममार्फत स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले नबिल बैंकले सुरु गरेको कार्यक्रम समाजका लागि उदाहरणीय भएको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयले यसमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । आगामी दिनमा पनि सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा.गोविन्द तामाङले नबिल बैंकसँगको सहकार्य सन् २०२८ सम्मका लागि सम्झौता भइसकेको जानकारी दिँदै यो कार्यक्रम कक्षाकोठामा मात्र सीमित नभई व्यवहारिक र अनुभवमा आधारित रहेको बताएका छन्।
नबिल बैंकले सन् २०२१ नोभेम्बर २६ देखि मुलुकभर सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नबिल एसएसई’ सुरु गरेको हो । सहभागीले प्रत्येक महिना तीन दिन आवासीय प्रशिक्षण लिने र बाँकी समय आफ्नै कार्यस्थलमा काम गर्ने व्यवस्था गरिएको छ ।
फेलोसिप कार्यक्रमअन्तर्गत हालसम्म ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् । उनीहरूले ६२ उद्यम सञ्चालन गर्दै १४ हजार पाँच सयभन्दा बढी रोजगारी सिर्जना गरेका छन् ।
त्यसैगरी नबिल बैंकले देशका विभिन्न १० शैक्षिक संस्थामार्फत नबिल एसएसई सर्टिफिकेट कोर्स सञ्चालन गर्दै आएको छ । सातै प्रदेशबाट एक हजार ६९ जनाले यसबाट लाभ लिइसकेका छन् ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij