Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक


  • 771
    Shares

    आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

    काठमाडौं । गत आर्थिक वर्षकोभन्दा चालु आर्थिक वर्ष २०८२\८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको छ ।

    गत आर्थिक वर्ष २०८१\८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले गत वर्षकोभन्दा यस वर्ष आर्थिक क्रियाकलापमा बढोत्तरी हुने जनाएको हो ।

    “आर्थिक वर्ष २०८२\८३ मा मुद्रास्फीतिको चाप कम रहको छ । विश्वव्यापी रूपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृद्धि सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको र विगत केही वर्षदेखि सङ्कुचनमा रहको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

    चालु आर्थिक वर्षमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान राष्ट्र बैंकको छ । “अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवर्द्धन गर्दै पुनः निर्माण अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएकोलगायत कार्यले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान रहको छ”, केन्द्रीय बैंकले प्रतिवेदनमार्फत भनेको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आव २०८१\८२ मा नेपालको आर्थिक वृिद्धदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

    गत आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२, १२.८र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ ।

    गत आर्थिक वर्षको मुलुकको कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५.९ प्रतिशत रहको छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ ।

    प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषिबालीको उत्पादन ३.७ प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने २.२ प्रतिशतले घटेको छ ।

    त्यस्तै तरकारी उत्पादन १०.१ र मसला उत्पादन ०.७ प्रतिशतले बढेको छ भने फलफूल उत्पादन ३.३ प्रतिशतले घटेको छ ।

    पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक र मासु उत्पादन ०.३ प्रतिशतले बढेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन ८.८२ र दाउरा उत्पादन ४.७४ प्रतिशतले बढ्दा औषधिजन्य वस्तुको उत्पादन १.९१ प्रतिशतले घटेको छ ।

    गत आर्थिक वर्षमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४.५प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा यस्तो क्षमता उपयोग ४८.३ प्रतिशत रहेको थियो । विसं २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ ।

    प्रतिवेदनअनुसार गत आवमा नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ ।

    त्यस्तै, गत आर्थिक वर्षमामा घररभवन नक्सा पास सङ्ख्या १।२ प्रतिशतले र घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व १८ दशमलव छ प्रतिशतले घटेको छ । विसं २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.५प्रतिशतले र कर्जा प्रवाह ८.२प्रतिशतले वृद्धि भएको छ ।

    राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७६।६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ । कूल निक्षेपमा यस प्रदेशको अंश ६५.८ प्रतिशत र कूल कर्जामा ५९.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

     

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - ११:५८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij