२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।
आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री घिसिङले ‘भाषणभन्दा नतिजा‘ लाई प्राथमिकता दिँदै विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्ति विरुद्ध निर्मम कदम चालेको बताएका हुन्।
मन्त्री घिसिङले वर्षौँदेखि अलपत्र अवस्थामा रहेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्द गरेका छन्। काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का तोडेर मात्र नछोडिने र नयाँ प्रक्रियामार्फत आयोजनालाई गति दिने उनले स्पष्ट पारेका छन्।
रणनीतिक महत्वको १२०० मेगावाटको बुढीगण्डकी र १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने गरी वित्तीय ढाँचा तयार पारेर सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उनले जानकारी दिएका छन्।
आफ्नो कार्यकालमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल उठाउने विषयमा रहेको राजनीतिक हस्तक्षेप र अन्योल अन्त्य गरिएको मन्त्री घिसिङको दाबी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij