२०८२ भाद्र २ गते सोमवार
पोखरा । गण्डकी प्रदेशमा शनिबार एकैदिन ७७० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा म्याग्दीमा मात्र सर्वाधिक २३० संक्रमित थपिएका छन् । कास्कीमा १६८ र नवलपरासी पूर्वमा १४७ जनामा भाइरस पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा फेरि १४ जना कोरोना संक्रमितले ज्यान गुमाउँदा मृतकको संख्या ३५५ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा म्याग्दी बेनी–५ की ४५ वर्षीया महिलाले शुक्रबार ज्यान गुमाइन् ।
पर्वतको जलजला गाउँपालिका ४ का ५५ वर्षीय पुरुषले पनि सोही अस्पतालमा ज्यान गुमाए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै तनहूँको भिमाद नगरपालिका ५ का २२ वर्षीया महिलाको शनिबार र स्याङजाकोको अर्जुनचौपारी १ का ७० वर्षीय पुरुषको निधन भयो ।
कास्कीको पोखरा २ की ३९ वर्षीया महिला, पर्वतको कुश्मा १२ की ५२ वर्षीया महिला र पोखरा १४ का ५२ वर्षीय पुरुषको शुक्रबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ ।
यस्तै मृत्यु हुनेमा गोरखाको शहीद लखन गाउँपालिका ४ का ४२ वर्षीय पुरुष, पोखरा १४ का ४९ वर्षीया पुरुष, स्याङ्जाको वालिङ ६ का ७८ वर्षीय पुरुष, पोखरा १४ कै ४५ वर्षीय पुरुष, पर्वतको फलेबास ५ की ३२ वर्षीया महिला, कास्कीको पोखरा ८ का ४२ वर्षीय पुरुष, र पोखरा ३० का ५३ वर्षीय पुरुष रहेका छन् ।
यी मध्ये पोखरा ३० का पुरुषले घरमै ज्यान गुमाएका हुन् भने गोरखाका ४२ वर्षीय संक्रमितको गोरखा अस्पतालमै ज्यान गएको हो । बाँकी सबैको पोखराको विभिन्न अस्पतालमा निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij