२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा ईञ्निियर दीपक श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सदस्य सचिव श्रेष्ठले कोषको केन्द्रीय कार्यलय, लुम्बिनीमा पदभार ग्रहण गरेका हुन् ।
उत्कृष्ट कार्यसम्पादन गरे बापत नेपाल खानेपानी संस्थान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पुरस्कृत दीपक श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएकी प्रधानमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेकी हुन् ।
व्यवस्थापन, प्रशासन र इन्जिनियरिङमा गरी झण्डै २ दशकको अनुभव संगालेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सीसम्मको अध्ययन गरेका छन् । गोरखाको सहिद लखन थापा गाउँपालिका वडा नं ६ का श्रेष्ठ २०६७ सालमा नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए ।
खानेपानी संस्थानको धरान र बनेपामा शाखा प्रमुखको हैसियतमा उत्कृष्ट कार्यसम्पादन गरेका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमामा कार्यरत रहँदा पनि उत्कृष्ट कार्यसम्पादन बापत पुरस्कृत भएका थिए ।
अख्तियारबाट बढुवा भएर खानेपानी संस्थानमै पुगेका श्रेष्ठलाई अहिलेको सरकारले लुम्विनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij