Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 729
    Shares

    आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गराँैः दुर्गा प्रसाईं

    नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको छ । आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरु राखेको उल्लेख गर्नुहुँदै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको हो । उहाँले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताउनु भयो । नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरुका मागप्रति सकारात्मक रहेको बताउनु भयो । 

    २. योमरी पुन्हीलाई संस्कारका रुपमा अघि बढाउनुपर्छः उपप्रमुख डंगोल

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । २२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गर्नुभया । उपमेयर डंगोलले यामरी पुन्ही एउटा पर्व मात्र नभइ संस्कार भएको जिकिर गर्नुभयो । उहाँले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभइ अस्तित्वको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो । आजको दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ धान घरमा भित्र्याउने र नयाँ धानबाट बनाइएको योमरी देवी अन्नपूर्णलाई अर्पण गर्ने परम्परा रहेको छ । 

    ३. योजनाअनुरूप नतिजा निस्कदा सफल भयौंः भीम सार्की

    प्लेअफमा पुगेपछि काठमाण्डु गोर्खाजका भीम सार्कीले टिमको प्लानिङअनुसार नतिजा पनि मैदानमा निस्किदा धेरै खुशी लागेको बताएका छन् । जितमा म्यान अफ दी म्याच भएका भीमले स्कोर बोर्डमा टिम कठिन अवस्थामा हुँदा जतिसक्दो रन बढाउनुपर्छ भनेर खेलेको र त्यहीअनुरूप नतिजा पनि आउँदा खुशी लागेको बताएका हुन् । उनले जितको आधारमा साहब आलमको बलिङ, फिल्डिङ र बेन चाल्र्थवर्थको ब्याटिङ रहेको बताए । सालमसँगै आर्मीबाट खेल्ने गरेकाले उनको बलिङमा धेरै विश्वास लाग्ने गरेको उनी बताउँछन् । शुरुका खेलमा कम्बिनेस त्यति राम्रो हुन नसक्दा कठिन भएको उनको बुझाइ छ । तर, अहिले टिम कम्बिनेसन राम्रो हुँदा आएको उनी बताउँछन् । मोन्टी देसाईलाई घरेलु नेपाली खेलाडीबारे राम्रोसँग जानकारी रहेको र त्यसले थप सजिलो भएको भीमले उल्लेख गरेका छन् ।

    ४. बाढी बीमामा किसानको आकर्षण बढ्दोस् जलमापन केन्द्रमा जल सतह बढ्ने  बित्तिकै किसानको खातामा पैसा

    पछिल्ला वर्षहरुमा मनसुनमा हुने भारी वर्षाले कृषि क्षेत्रमा ठूलो नोक्शानी गरेको छ । सबै भन्दा बढी थन्क्याउन ठिक्क भएको धानबाली नोक्शानी भइरहेको छ । यही आर्थिक वर्षमा मनसुन सकिन लाग्दा असोज १७, १८ र १९ गते देशभर परेको वर्षाका कारण मुलुकभर साढे ३ अर्ब रुपैयाँ बराबरको अन्नबाली नोक्शानी भयो । कृषि तथा पशुपंक्षी मन्त्रालयलका सूचना अधिकारी महानन्द जोशीकाअनुसार धान, तरकारी, उखु तथा माछा पोखरीमा पुगेको क्षति साढे ३ अर्ब रुपैयाँ बराबरको छ ।

    हरेक वर्ष पाक्न लागेको धानमा बर्षाले क्षति पुर्‍याउने गरेको छ । बाली बीमाको बारेमा मनसुनी चर्चा हुने गरेको भएपनि सबै किसान बीमामा आवद्ध छैनन् । सरकारसँग अन्नबाली तथा पशुपंक्षी बीमा योजना छ । यस्तो बीमाले किसानको बालीमा भएको क्षतिको ९० प्रतिशत सम्म क्षति बहन गर्ने सूचना अधिकारी जोशीले बताउनु भयो ।

    ५. तयारी छोटो भएपनि उपाधि जित्छौंः एपिएफ 

    एपिएफकी कप्तान अनिता बस्नतेले पहिलोपल्ट हुन लागेको साफ महिला क्लव च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवारदेखि आगामी पुस ५ गतेसम्म क्लव च्याम्पियनसिप हुनेछन् । प्रतियोगिताअगाडि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एपिएफका कप्तान अनिताले तयारी पूरो भएको र उपाधि जित्ने विश्वास व्यक्त गरेकी हुन् । कप्तान तथा प्रशिक्षकहरूको पत्रकार सम्मेलनमा अनिताले उत्साहका साथ आफूहरु पहिलो साफ वुमेन्स क्लब च्याम्पियनससिप खेल्न उत्साहित रहेको बताउनु भयो । 

    ६. ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी

    अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ । नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढङ््गले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गर्न लागिएको हो । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन, र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो । महानिर्देशक तिवारीले मुलुकमा प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने स्पष्ट गर्दै आगामी जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू हुने बताउनु भयो । 

    ७. काठमाण्डु गोर्खाज पहिलोपल्ट प्लेअफमा

    स्पिनर साहव आलमको ह्याट्रिकसहित ६ विकेट प्रेरणामा काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफमा पुगेको छ । कीर्तिपुरमा आफ्नो छैटौं तथा लिगको अन्तिम काठमान्डुले बिहीवार पोखरा एभेन्जर्समाथि  १३ रनको जित निकाल्दै एनपिएलमा पहिलोपल्ट प्लेअफमा स्थान बनाएको हो । पहिलो सिजन नेट रनरेटमा कर्णाली याक्ससँग पछि हुँदा काठमाण्डु प्लेअफमा पुग्न असफल भएको थियो । तर यसपल्ट लिगमा सातमध्ये पाँच खेल जित्दै काठमाण्डुले प्लेअफसँग शिर्ष दुईको नै दाबेदारी दिएको छ । पोखराको भने छैटौं खेलमा चौथो हारसँगै प्लेअफ यात्रा कठिन भएको छ । काठमाण्डुको जितमा स्पिनर साहबले उत्कृष्ट बलिङ गरे । 

    ८. २०२७ सम्म रूसी ग्यास आयात बन्द गर्न युरोपेली संघ सहमत

    युरोपेली संघका सदस्य राष्ट्रहरू र युरोपेली संसदले बुधवार २०२७ को शरद ऋतुसम्ममा रूसी ग्यासको सबै आयातमा प्रतिवन्ध लगाउने सम्झौतामा पुगेका छन् । युरोपेली परिषद्को विज्ञप्तिअनुसार सम्झौताले रूसी तरल प्राकृतिक ग्यास र पाइपलाइन ग्यासको आयातमा चरणवद्ध प्रतिवन्धको लगाउने निर्णय गरेको हो । २०२६ को अन्त्यदेखि एलएनजी आयातमा पूर्ण प्रतिवन्ध लाग्नेछ । २०२७ को अन्तिममा पाइपलाइन ग्यास आयातमा प्रतिवन्ध लागू हुनेछ । यो कदमको उद्देश्य युरोपेली ऊर्जा बजारमा महत्त्वपूर्ण प्रभाव पार्ने रूसको ग्यास आपूर्तिको हतियारीकरण पछि रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु रहेको बताइएको छ । मिडिया रिपोर्टहरूका अनुसार अक्टोबरसम्म रूसले ईयू ग्यास आयातको १२ प्रतिशत हिस्सा ओगटेको थियो । जुन २०२२ मा ४५ प्रतिशत थियो । 

    ९.अमेरिकाले क्यारिबियनमा लागुऔषध तस्करहरूमाथि छिटै कारबाही शुरु गर्छः ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रशासनले क्यारिबियनमा लागुऔषध तस्करहरूलाई लक्षित जमिनमा कारबाही शुरु गर्ने बताउनुभएको छ । ट्रम्पले वायुसेनाको ७ औं बम विंगलाई भेनेजुएला लागुऔषध तस्करहरूलाई रोक्नको कामको लागि धन्यवाद दिनुभएको थियो । यो लगभग ८५ प्रतिशत समुन्द्रबाट रोकिएको र आफूहरु तिनीहरूलाई जमिनबाट रोक्न शुरु उहाँको भनाइ छ । सेप्टेम्बर २ देखि, पेन्टागनले क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागुऔषध जहाजहरूमा कम्तिमा २१ वटा ज्ञात आक्रमणहरू गरेको छ ।

    १०. इराकमा पश्चिम एशियाली जुनियर कुस्ती च्याम्पियनशिप आयोजना

    १७ वर्ष मुनिका पहलवानहरूको लागि पश्चिम एशियाली क्लवहरूको अन्तर्राष्ट्रिय फ्रिस्टाइल र ग्रीको–रोमन प्रतियोगिता बुधवार बगदादमा शुरु भएको छ । उत्सुक प्रशंसकहरूको भीडलाई आकर्षित गर्दै चार दिने कार्यक्रमले इराकमा कुस्तीको विकासलाई बढावा दिने लक्ष्य राखेको छ । इराक, इरान, सिरिया, जोर्डन, लेबनान, प्यालेस्टाइन, साउदी अरेबिया, कुवेत, कतार, बहराइन लगायत देशका करिव २ सय ५० भन्दा बढी युवा खेलाडीहरूले सहभागिता जनाएका छन्। उद्घाटन समारोहमा हजारौं दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने इराकी युवाहरूले राष्ट्रिय झण्डा फहराउँदै खेलाडीहरूलाई हौसला प्रदान गरेका थिए । 

    ११. दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई १५ वर्षको जेल सजाय माग

    दक्षिण कोरियाको विशेष वकिल टोलीले बुधवार पूर्व महाभियोग लगाइएका राष्ट्रपति युन सुक–योलकी श्रीमती किम केओन–हीलाई भ्रष्टाचारको आरोपमा १५ वर्षको जेल सजाय माग गरेको छ । पूर्व राष्ट्रपति दम्पतीसँग सम्बन्धित भ्रष्टाचारको आरोपको अनुसन्धानको नेतृत्व गरिरहेका विशेष वकिल मिन जोङ–कीको टोलीले पूँजी बजार ऐन र राजनीतिक कोष ऐन लगायतका कानून उल्लङ्घन गरेको आरोपमा अगस्टदेखि हिरासत केन्द्रमा रहेका किमलाई जेल सजाय माग गरिएको हो । सजायको मिति अर्को वर्ष जनवरी २८ को लागि तय गरिएको थियो । 

    १२. पाकिस्तानमा आक्रमणबाट चार जनाको मृत्यु

    पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गाडीमा आक्रमण हुँदा एक अधिकारी र दुई प्रहरीसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बन्नु जिल्लामा भएको थियो । जहाँ आक्रमणकारीहरूले गाडीमा आगो लगाउनुअघि गोली चलाएका थिए । जिल्लाका उपमहानिरीक्षक सज्जाद खानकाअनुसार जिल्लाका सहायक आयुक्त रहेका अधिकारी आतंककारीहरू विरुद्धको कुनै सुनुवाइमा अदालतमा उपस्थित हुन जाँदै थिए । आक्रमणमा मारिनेहरूमा नजिकैको खेतमा काम गर्ने एक नागरिक पनि रहेको बताउनु भयो । आक्रमणमा दुई प्रहरी पनि घाइते भएका छन् । 

    १३. जाडोमा फलफूलः बढ्यो मूल्य, छैन सुन्तला र बदामको व्यापार

    फलफूल बजार यतिखेर सुनसान प्राय बनेको छ । उपभोक्ता र फलफूल दुवैको अभावमा व्यापार घटेको व्यवसायीहरु बताउँछन् । यतिबेला सुन्तलाको सिजन हो तर सुन्तला पनि बजारमा कम मात्रै उपलब्ध रहको व्यवसायीहरुको भनाई छ । स्याउ, केरा र बदामको कारोबार पनि कम रहेको छ । नेपालमा उत्पादन कम, आयात बन्द लगायतको कारण सबै सामग्रीहरुको मूल्य समेत वृद्धि भएको छ । फलफूल व्यवसायी कमल पन्थले यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको तुलनामा कम भएको बताउनु भयो । सुन्तला उत्पादन गर्ने किसानले मूल्य नपाउने, उपभोक्ताहरुले बढी मूल्य तिर्नुपर्ने वर्तमान अवस्था रहेको उहाँको भनाई छ । किसानले उत्पादनमा मल, औषधि तथा मजदुरीमा ठूलो खर्च गरेपनि विचौलियाका कारण उचित मूल्य पाउन नसकेको उहाँले बताउनु भयो । 

    १४. उँधौली पर्व मनाउँदै किराँत समुदाय

    किराँत समुदायले बिहीवार देशभर उँधौली पर्व हर्षोल्लासका मनाउँदैछन् । हरेक वर्ष मंसिर पूर्णिमाको दिन यो पर्व मनाउने गरिन्छ । अन्नबाली भित्र्याएपछि पूर्खाहरुलाई चढाउने र खुशीयाली मनाउन किराँत समुदायले उँधौली पर्व मनाउने गरेका छन् । किराँत राई केन्द्रिय कार्यसमितिका सल्लाहकार मणिककुमार राईले वैशाखको उँभौली पर्वमा अन्नबाली लगाएर आर्शिवाद माग्ने र उँधौली पर्वमा अन्नबाली भित्र्याएर पूर्खाहरुलाई चढाउने गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार उँधौलीमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गरिन्छ । 

    १५. घोषित मितिमा निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँः प्रधानमन्त्री कार्की

    प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुख दायित्व भएको बताउनुभएको छ । ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताउनु भयो । उहाँले जेन–जी आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताउनु भयो । जेन–जी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उहाँले ती मागहरु पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

    १६. काँग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि

    विशेष महाधिवेशन पक्षधर नेपाली काँग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले बिहीवार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुनेगरी आएको प्रतिक्रिया दिएका हुन् । नेता जगदीशश्वर नरसिंह केसीले सो कार्यतालिका कार्यान्वयन नहुने भएकाले आफूहरुले पुस २८ गते भित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने समेत बताउनु भयो । उहाँले षड्यन्त्रमूलक ढंगले आएको सो कार्यतालिकाअनुसार महाधिवेशन नहुने भएकाले विशेष महाधिवेशन गर्नेगरी आफूहरुले तयारीको कामलाई अघि बढ्नुपर्ने जिकिर गर्नुभयो । 

    १७. सञ्चारकर्मीहरुलाई विष्णु रिमालले भनेः ओली नै अध्यक्ष हुनुहुन्छ, लेखेर राख्नुस्

    नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताउनुभएको हो । उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दैसो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताउनु भयो । 

    १८. बजारमा दुई दर्जन इन्टरनेट कम्पनीहरुको हालिमुहालीः कसको वर्चस्व कति ?

    नेपाली बजारमा इन्टरनेट कम्पनीहरुको बाढी नै छ । करिव दुई दर्जन बढी कम्पनीहरु प्रतिष्पर्धामा छन् । उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका हुन्छन् । वल्र्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिव दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिष्पर्धा गर्नेमध्ये सबैभन्दा बढि बजार हिस्सा वल्र्ड लिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

    १९. सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौंः इप्पान अध्यक्ष कार्की

    लामो समय पिपीए रोकिएका बेला सरकारले १० मेगावाटसम्मका आयोजनाको पिपीए खुला गर्ने तयारी थालेको छ । यसका लागि विद्युत प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेर उर्जामन्त्रालयमार्फत थप निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले १० मेगावाट माथिका आयोजनाहरुमा पनि सरकारले पिपीए खोल्दै जानुपर्ने बताउनु भयो । सरकारले अनुमति दिएको खण्डमा विदेशमा बिजुली निर्यात गर्न आफूहरु तयार रहेको पनि बताउनु भयो । 

    २०. नख्खु पुगेर जेन–जी प्रतिनिधि सुदन गुरुङले भेटे रवि लामिछाने

    जेन–जी प्रतिनिधि सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ । बिहीवार गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेसँग भेट गर्नुभएको हो । भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको कुरा सुनाएको उहाँले बताउनु भयो । आफूमाथि अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भएपनि मुद्दाको छिटो छिनोफानो हुनुपर्ने कुरा सभापति लामिछानेले गुरुङसँग राख्नुभयो । गुरुङले मुलुकको लागि केही गर्ने भनेर आउनुभएका लामिछानेमाथि राज्यले गरेको व्यवहारले आफू समेत दुःखित भएको बताउनु भयो । उहाँले मुलुकको विकास गर्न भन्दै अगाडि बढ्ने मान्छेको चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्ति बढेको भन्दै त्यसको उदाहरण लामिछाने भएको पनि बताउनु भयो ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १९:१६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij