२०८२ मंसिर १८ गते बिहिवार
काठमाडौं । केही दिनअघि मिति उल्लेख नगरी दुई पृष्ठ लामो पत्र सार्वजनिक भयो । निकै शंकास्पद र गम्भीर विषयहरू उल्लेखित यो पत्रले अहिले ठूलो हलचल र चिन्ता उब्जाएको छ । यो विषय सुरक्षा संयन्त्रको टाउको दुखाइ बनेको छ ।
धम्कीसहितको पत्र आएपछि अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले बताएको छ । उपत्यका प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालयहरूलाई सतर्क रहन भन्दै निर्देशन दिएको छ ।
एक प्रहरी अधिकृतका अनुसार ती व्यक्तिले आफ्नो आवाज समेत परिवर्तन गरेर भिडियो बनाएको पाइएको छ । लोकेसन पनि फरक ठाउँको राखेर आतंक सिर्जना गर्ने प्रयास गरिएको देखिएको ती प्रहरीले बताए ।
‘आतंक सिर्जना गर्न खोजेको जस्तो देखिन्छ । यसको कुनै ठूलो समूह पनि देखिँदैन । के उद्देश्य हो भन्ने पनि देखिँदैन,’ ती प्रहरी अधिकारीले भने । ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (इएनजी) भनेर लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरमेन’ भनेर प्रकाश पाठकको नाम उल्लेख छ ।
जहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, पूर्वपरराष्ट्र मन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गर्दै धम्की दिइएको छ ।
यतिमात्रै होइन यो पत्र सार्वजनिक भएपछि एउटा भिडियो सन्देश समेत सार्वजनिक गर्दै प्रकाश पाठक नाम बताउनेले १० दिनभित्र राजीनामा दिन अख्तियार प्रमुख राईलाई धम्की दिएका छन् । बहालवाला अख्तियार प्रमुखलाई ज्यान मार्नेसम्मको धम्की आएपछि यसबारे अख्तियारले प्रहरीसँग समेत छलफल गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij