२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । साउदी अरेबिया सरकारले त्यहाँ रहेका ९३ जना नेपालीलाई नेपाल फर्काउन ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) दिएको छ ।
अकामा (भिसा/करार अवधि सकिएपछि पनि त्यहीँ बसेर काम गर्ने) नभएका ७३ र हुरुब (अवैधानिक/भागेर काम गर्ने) लागेका २० गरी ९३ जनालाई साउदी सरकारले एक्जिट भिसा प्रदान गरेको हो । ती भिसा प्राप्त भएको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा आएका नेपालीलाई यथाशीघ्र नेपाल फर्कन अनुरोधसमेत गरेको छ । रियादस्थित नेपाली दूतावासबाट फारम भरेका व्यक्तिले आफ्नो एक्जिट भिसाको अवस्थाबारे थाहा पाउन दूतावासको वेबसाइटमा आफ्नो इकामा राहदानी नम्बर राखी जानकारी लिन सक्ने बताइएको छ ।
दमामबाट फाराम बुझाउनेको मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाम क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर कागजात लिन दूतावासले अनुरोध गरेको छ ।
“एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ, पेपर लिन राजदूतावास आइरहनु पर्दैन,” दूतावासले भनेको छ ।
एक्जिट भिसा प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ । तर यो भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले स्पष्ट पारेको छ ।
“एक्जिट भिसामा र आफूसँग भएको राहदानी÷ट्राभल डकुमेन्ट नम्बर एउटै छ÷छैन हेरेर यकिन गरी हवाई टिकट खरिद गर्नुहोला,” रियादस्थित नेपाली दूतावासले भनेको छ ।
“केही महिनादेखि एक्जिट भिसाका लागि यहाँको श्रम कार्यालयमा धेरै देशका कागजात चाङमा रहेको जानकारी प्राप्त भएकाले धैर्यपूर्वक प्रतीक्षा गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ,” सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij