२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिने तयारी गरेका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको एमाले स्रोतले जनाएको छ ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको छ ।
नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले आफूहरूले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको बताएका छन् ।
मुख्यमन्त्री यादवले पनि आफू निकटस्थहरूसँग राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् । ‘मुख्यमन्त्रीजीले २ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्ना कुरा राखेर राजीनामा दिने सोच बनाउनुभएको छ’, मुख्यमन्त्री यादव निकट एक सांसदले भने, ‘राजीनामाको भाषाबारे छलफल भइरहेको छ ।’
मुख्यमन्त्री यादव गत कात्तिक २३ गते नियुक्त भएका थिए । गत कात्तिक २३ गते तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij