२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच आज भएको टेलिफोन संवादमा नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गर्नुभयो ।
नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उहाँले बताउनुभयो । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराउनुभयो ।
यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीहरू सहयोग गरिने जानकारी दिनुभयो । सहयोगबारे आगामी आइतबारसम्म टुङ्गो लाग्ने उहाँले बताउनुभयो । “खोपबारे मैले पनि पहल गरिरहेको छु, टुङ्गो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु”, उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भन्नुभयो ।
राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरूले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य सङ्गगठन (डब्ल्युएचओ)बाट पाउने कोभ्याक्सअन्तर्गत खोप सक्दो छिटो नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गर्नुभएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij