२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानमार, कम्बोडिया, थाइल्यान्ड र लाओसमा ‘अवैध धन्दा’मा संलग्न नेपालीलाई ती देश हेर्ने नेपाली दूतावासबाट प्रमाणीकरण नगरी व्यक्तिगत श्रम स्वीकृति दिएको खुलेको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिई म्यानमार, कम्बोडिया, थाइल्यान्ड र लाओस गएको र ‘अवैध धन्दा’मा संलग्नहरू अलपत्र परेपछि ती देश हेर्ने नेपाली दूतावासलाई उद्धार गरी नेपाल फर्काउन भ्याई नभ्याई भएको छ ।
म्यानमार र थाइल्यान्डमा नेपाली दूतावास छन् । थाइल्यान्डकै नेपाली दूतावासले कम्बोडिया र लाओस समेत हेर्नेगर्छ । पछिल्लो तीन वर्ष चार महिनाको अवधिमा म्यानमार र थाइल्यान्डमा रहेका नेपाली दूतावासले तीन सयभन्दा बढी नेपालीलाई उद्धार गरी नेपाल फर्काएका छन् ।
यसरी उद्धार गरी नेपाल आएका अधिकांश आकर्षक रोजगारीको प्रलोभनमा परेर ती देश पुगेको र त्यहाँ अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायतका काममा संलग्न थिए ।
२०८२ वैशाख १ गतेयता मात्र थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले ६७ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काएको छ । नेपाल फर्कने पर्खाइमा अझै म्यानमारको म्यावडीमा २३ जना, थाइल्यान्डको मेसोटमा दुईजना र कम्बोडियामा चारजना गरी २९ जना नेपाली छन् ।
जति पनि नेपालीलाई ती क्षेत्रबाट उद्धार गरी नेपाल फर्काइएको छ, प्रायः सबै वैदेशिक रोजगार विभागबाट व्यक्तिगत श्रम स्वीकृति लिई जानेहरू छन् । तर विभागले म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावाससँग प्रमाणीकरण नगरी उनीहरूलाई श्रम स्वीकृति दिएको बुझिएको छ ।
थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले भने, “हालसम्म श्रम स्वीकृति दिने वा नदिने भन्ने विषयमा हामीसँग वैदेशिक रोजगार विभागबाट कुनै पत्र प्राप्त भएको छैन । उनीहरू काम गर्न आएको कम्पनी के कस्तो हो भन्ने विषयमा कुनै जानकारी मागिएको छैन ।”
श्रम स्वीकृति दिँदा काम गर्न जाने कम्पनी के कस्तो हो ? त्यसबारे नेपाली दूतावाससँग जानकारी लिएपछि (प्रमाणीकरण) मात्र दिने गरिन्छ ।
तर व्यक्तिगत श्रम स्वीकृति लिई म्यानमार, कम्बोडिया, थाइल्यान्ड र लाओस जाने नेपाली जुन कम्पनीमा काम गर्न जान लागेका हुन् वा गएका हुन् त्यस सम्बन्धमा दूतावाससँग कुनै जानकारी विभागले मागेको छैन ।
श्रम स्वीकृति प्रदान गर्नुअघि प्रमाणीकरण गर्ने सम्बन्धमा जानकारी माग भएको वा नभएको भन्नेबारे बाह्रखरीले म्यानमारका लागि नेपाली राजदूत हरिषचन्द्र घिमिरेसँग पनि जिज्ञासा राखेको थियो ।
“श्रम स्वीकृति दिनुअघि दूतावासको प्रमाणीकरण आवश्यक पर्छ । तर पछिल्ला वर्षहरूमा हामीसँग कुनै व्यक्तिका हकमा पनि श्रम स्वीकृति दिने सम्बन्धमा कुनै जानकारी मागिएको छैन,” म्यानमारका लागि नेपाली राजदुत घिमिरेले भने, “हामीले सम्बन्धित कम्पनी ठिक छ भनेर पत्र पठाएपछि मात्र विभागले त्यो कम्पनीमा काम गर्न जानेगरी श्रम स्वीकृति प्रदान गर्ने हो ।”
विभागले दूतावासबाट प्रमाणीकारण नगरी श्रम स्वीकृति दिँदा ठूलो संख्यामा नेपालीले म्यानमार, कम्बोडिया, थाइल्यान्ड र लाओसमा दुःख पाइरहेका मात्र छैनन् आपराधिक क्रियाकलापमा पनि संलग्न भएका छन् ।
विभागको तथ्याङ्कअनुसार, बितेको चार वर्ष चार महिनाको अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिएर ७२३ जना नेपाली कम्बोडिया, म्यानमार, थाइल्यान्ड र लाओस गएका छन् । २०७८ साउन १ गतेदेखि २०८२ कात्तिक मसान्तसम्मको अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिई ४१२ जना कम्बोडिया, २३३ जना थाइल्यान्ड, ७३ जना लाओस र ५ जना म्यानमार गएको देखिन्छ ।
थाइल्यान्ड, लाओस र कम्बोडियाको कप्पनीमा काम गर्न जानेभन्दै श्रम स्वीकृति लिएर जानेहरू पनि म्यानमार पुग्ने गरेको पाइएको छ । म्यानमारको म्यावडीबाट मात्र पछिल्लो तीन वर्ष चार महिनाको अवधिमा २६४ जना नेपालीलाई उद्धार गरी नेपाल पठाइएको छ । उनीहरू सबैलाई त्यहाँ अवैध धन्दा (ठगी) मा लगाइएको थियो ।
विभागको तथ्याङ्क अनुसार, व्यक्तिगत श्रम स्वीकृति लिएर आर्थिक वर्ष २०७८/७९ मा ८७ जना, २०७९/८० मा ११५ जना, २०८०/८१ मा १४७ जना, २०८१/८२ मा २७९ जना र चालु आर्थिक वर्ष २०८२/८४ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) ९५ जना नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड गएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij