२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । हर्मित सिंहको अलराउन्डर प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डूले १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमात्र बनाउन सक्यो ।
काठमाण्डूलाई सस्तैमा समेट्न सुदूरपश्चिमका स्कट कुग्गेलिन, हेमन्त धामी र ब्याटिङतर्फ अर्धशतक बनाएका हर्मित सिंहले समान दुई विकेट लिए । चार ओभरमा हर्मितले ५.२५ को इकोनोमी रेटसहित २१ रनमात्र खर्चिए । इशान पाण्डे, नरेन साउद र अविनाश बोहराको नाममा समान एक विकेट रह्यो ।
काठमाण्डूका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । उनले ३० बलमा एक चौका र दुई छक्का प्रहार गरे । जोन सिम्पसनले २४ रन थप्दा भीम सार्कीले १२, मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन थपे । काठमाण्डूका अलराउन्डर आदील आलम ‘गोल्डेन डक’ भए । ११.५ ओभरमा ९६–५ को स्थितिमा रहेको काठमाण्डूले यसपछि २२ रन जोड्दा बाँकी पाँच विकेट गुमायो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिका हर्मितले सर्वाधिक ५३ रन बनाए । आक्रमक रूपमा प्रस्तुत भएका हर्मितले २० बलमा दुई चौका र ६ छक्का प्रहार गरे । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्कासहित ३९ रन थपे । ७२–६ को नाजुक स्थितिबाट यी दुईले सातौँ विकेटका निम्ति ६१ रनको साझेदारी गर्दै सुदूरलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्याएका थिए ।
सुदूरपश्चिमले १६औँ ओभरको सुरुआतदेखि १८औँ ओभरको दोस्रो बलसम्म कुल १४ बलमा ५३ रन बनाउँदै इनिङ उकासेको हो । सुदूरपश्चिमले १६औँ ओभरमा २१ र १७औँ २४ रन बनाएको थियो । यस्तै, १८औँ ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा दुई रन लिँदा सुदूरले १४ बलमा ५३ रन जोडेको हो । तर, १८औँ ओभरको तेस्रो बलका कप्तान दीपेन्द्रसिंह ऐरी पभेलियन फर्किएपछि सुदूरको तीव्र रन गतिमा पुनः ‘ब्रेक’ लाग्यो ।
आसिफ सेखले २४ बलमा तीन चौकासहित २५ रन र इशान पाण्डेले ११ रन थपे । यसबाहेक, सुदूरका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सुदूरले ओपनरद्व विनोद भण्डारी र जस ब्रोनलाई पहिलो ओभरमै गुमाएको थियो । विनोद र ब्रोन दुवै ‘डक’ भएका थिए ।
अस्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिन पनि दुई रन थप्दै आउट भए । नरेन साउदले ६ रन जोड्दा स्कट कुग्गेलिन र अबिनाश बोहराले एक–एक रनमात्रै बनाए । हेमन्त धामी तीन रनमा अविजित रहे । काठमाण्डूका कप्तान करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले ३० रन खर्चिए । मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले समान दुई विकेट लिए ।
प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले निराश बनाएको थियो । यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो । यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेको थिए । लिग चरणको उक्त खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij