२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका लागि १७ नोभेम्बरका दिन सुखद् र दुःखद् दुवै अनुभूतिको मिश्रण बनेको छ ।
१७ नोभेम्बर २०२५ का दिन अर्थात् हिजो (सोमबार) हसिनालाई बंगलादेशकै एक अदालतले मानवताविरुद्धको कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलन निर्ममतापूर्वक दबाउने क्रममा एक हजार चार सयभन्दा बढी मानिसको हत्या गरेको आरोप उनीमाथि लागेको थियो ।
सोही प्रकरणमा सुनुवाइ गर्दै अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
५८ वर्ष अघि १७ नोभेम्बरकै दिन हसिनाले दाम्पत्य जीवन सुरु गरेकी थिइन् । १७ नोभेम्बर १९६७ का दिन हसिनाले डा। एम ए वाजेद मियासँग विवाह गरेकी थिइन् । हसिनाका पति अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त परमाणु वैज्ञानिक थिए । हसिनाका पति मियाको ९ मे २००९ मा निधन भएको थियो ।
हसिना हाल भारतमा बस्दै आएकी छन् । उनले आईसीटीले आफूविरुद्ध सुनाएको फैसलालाई पूर्वाग्रही र राजनीतिक प्रतिशोधपूर्व रहेको बताएकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij