२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । रौतहटको वृन्दावन नगरपालिका-१ बलेरीमा शनिबार राति चोर समूहले एकै रात दुई घरमा सुरुङ खनेर प्रवेश गरी झण्डै १२ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको छ ।
वडाध्यक्ष रामनाथ सहनीका अनुसार चोरहरूले ब्रह्मदेव चौधरीको घरको भित्तामा सुरुङ खनेर भित्र पसेका थिए । उनीहरूले ७ लाख मूल्यका सुनचाँदीका गरगहना, ८० हजार नगद, र विभिन्न महत्त्वपूर्ण कागजात चोरी गरेका छन् ।
सोही क्रममा दुखा राउत कुर्मीको घर पनि लक्षित गर्दै सुरुङ बाटै प्रवेश गरेको थियो । त्यहाँबाट ४ लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन र कागजातसमेत लिएर फरार भएको सहनीले बताएका छन् ।
पीडित चौधरीका अनुसार घटना घट्दा दुवै घरका सदस्यहरू गहिरो निद्रामा थिए । चोरहरूले घरमा रहेको लत्ता-कपडा समेत खेततर्फ लगेर फालेको उनले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय गरुडामा घटना बारे सूचना पुगेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij