२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुईजनाको परिचय खुलेको छ। आइतबार (आज) मकवानपुरको भीमफेदी गाउँपालिका-१, बुङदलमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा फेला परेका दुईजनाको परिचय खुलेको हो।
मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने मोटरसाइकल चालक ३९ वर्षीय बिर बहादुर गुरुङ र स्थायी ठेगाना पूर्वी नवलपरासी, कावासोति–१३ भई हाल हेटौडा–१, चौकीटोल बस्दै आएका ३५ वर्षीय चन्द्र बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ। दुवैजनाको सनाखत उनीहरूको श्रीमतीहरूले गरेको मकवानपुर प्रहरीले जनाएको छ।
आज बिहान करिब ७ बजे बुङदल खोलाको पुलबाट करिब ५० फिट तल खसेको मोटरसाइकल दुर्घटनामा दुई पुरुषको घटनास्थलमै मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए।
बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनापछि स्थानीयको सूचनामा प्रहरी चौकी चौकीटोलबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ट्राफिक प्रहरीसहित थप टोली खटिएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटना राति नै भएको हुन सक्ने र मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनुमान गरिएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि हेटौडा अस्पताल पठाइसकेको र दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij