२०८२ कार्तिक २९ गते शनिवार
काठमाडौं । नयाँ जापानी प्रधानमन्त्री सनाए ताकाइचीले चीनले ताइवानमा हमला गरेमा जापानले सेना तैनाथ गर्न सक्ने सम्भावनाबारे दिएको अभिव्यक्तिपछि उत्पन्न कूटनीतिक विवाद चर्कंदै गएको छ । यहीक्रममा चीनले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ ।
नोभेम्बर ७ मा ताकाइचीले जापानी संसद्मा चीनले दाबी गर्ने स्वशासित टापु ताइवानविरुद्ध बल प्रयोग गरिए टोकियोबाट सैन्य प्रतिक्रिया आवश्यक हुन सक्ने टिप्पणी गरेपछि तनाव बढेको हो । ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने बेइजिङले उक्त अभिव्यक्तिलाई उत्तेजक भन्दै कडा रूपमा विरोध गरेको छ । शुक्रबार चीनले जापानका राजदूतलाई स्पष्टीकरणका निम्ति बोलाएको थियो ।
ओसाकास्थित चिनियाँ महावाणिज्यदूतद्वारा गरिएको तर हाल हटाइएको एक सामाजिक सञ्जाल पोस्टमा ताकाइचीलाई धम्की दिइएको जस्तो देखिएपछि टोकियोले पनि चीनका राजदूतलाई स्पष्टीकरण माग्दै बोलाएको थियो ।
टोकियोले भने यो घटनाले जापानको ताइवानबारेको स्थिर र अपरिवर्तित’ नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारेको छ । ताइवान जापानको सबैभन्दा नजिकको टापुबाट करिब ११० किलोमिटर दूरीमा अवस्थित छ ।
शुक्रबार ढिलो गरी जापानस्थित चिनियाँ दूतावासले एक अनलाइन पोस्टमार्फत आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न चेतावनी दिएको छ । वीच्याटमा प्रकाशित पोस्टमा भनिएको छ, “हालै जापानी नेताहरूले ताइवानसम्बन्धी खुला र उत्तेजक टिप्पणीहरू गरेका छन्, जसले दुई देशबीचको जनजन सम्बन्धको वातावरणलाई गम्भीर रूपमा क्षति पुर्याएको छ ।”
यो अवस्थाले जापानमा रहेका चिनियाँ नागरिकको व्यक्तिगत सुरक्षा र दैनिक जीवनमा उल्लेखनीय जोखिम पैदा भएको पोस्टमा उल्लेख छ । पोस्टमा थप भनिएको छ, “विदेश मन्त्रालय तथा जापानस्थित चिनियाँ दूतावास र महावाणिज्य दूतावासहरू सबैले चिनियाँ नागरिकलाई निकट भविष्यमा जापानको यात्रा नगर्न गम्भीरतापूर्वक सम्झाउँछन् ।”
शनिबार चीनका प्रमुख एयरलाइन्सहरू एयर चाइना, चाइना सदर्न र चाइना इस्टर्नले वर्षको अन्त्यअघि जापान जाने उडानको टिकटमा पूर्ण फिर्ता सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij