२०८२ कार्तिक २९ गते शनिवार
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पदीय आचरण र शक्तिको दुरुपयोग गर्दै प्रदेशसभा सचिवालयलाई परिवारका सदस्यहरूको भर्तीकेन्द्र बनाएको पाइएको छ।
सभामुख मण्डलले आफ्नै श्रीमती, छोरा, दुई छोरी र ज्वाइँलाई प्रदेशसभा सचिवालयमा विभिन्न पदमा करारमा नियुक्ति दिलाएको खुलेको हो।
विवरणअनुसार सभामुख मण्डलकी श्रीमती मिथिला देवी मण्डललाई स्विपर ९सफाई कर्मचारी० पदमा नियुक्त गरिएको छ। उनले प्रदेशसभा सचिवालयबाट मासिक २४ हजार ७०२ रुपैयाँ तलब बुझ्दै आएकी छिन्।
त्यसैगरी, सभामुखका छोरा राहुल मण्डल कम्प्युटर अपरेटर पदमा कार्यरत छन् र उनले मासिक ३४ हजार ७३० रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका छन्।
सभामुख मण्डलले आफ्ना दुई छोरीलाई पनि सचिवालयमा जागिर दिलाएका छन्। एक छोरी काजल कुमारी मण्डल मालीको पदमा नियुक्त भएकी छिन् भने अर्की छोरी विभा कुमारी मण्डल भान्सेको रूपमा कार्यरत छिन्।
दुवै छोरीले मासिक २४ हजार ७०२ रुपैयाँका दरले तलब बुझ्दै आएका छन्। स्रोतका अनुसार सभामुख मण्डलका दुवै छोरीहरू बसोबास भने काठमाडौंमा छ। यद्यपि तलब भने प्रदेशसभा सचिवालयबाटै नियमित रूपमा बुझिरहेका छन्।
यसभन्दा पनि अघि बढ्दै सभामुख मण्डलले आफ्ना ज्वाइँ रमेश कुमार मण्डललाई प्रथम श्रेणीको पदमा नियुक्ति गराएका छन्। उनको मासिक तलब ५६ हजार ७८७ रुपैयाँ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij