२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका छन् ।
प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू उपलब्ध गराइदिन भन्दै कारबाहीमा परेका सांसदहरू सञ्जयकुमार यादव (सर्लाही) र उर्मिलादेवी सिंह (सर्लाही) ले शुक्रबार निवेदन दिएका हुन् ।
सभामुख रामचन्द्र मण्डलले आफूमाथि प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई बिहीबार कारबाही गरेका थिए । लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेको जनाएका थिए ।
यसरी पदमुक्त गरिनेमा नागरिक उनमुक्ति पार्टीकी सांसद सिंह, यादव, जसपाका सांसद मनिषकुमार सुमन, सप्तरी, सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवार थिए ।
सभामुख मण्डलले कारबाही गरेको सूचना बाहिरिएसँगै उपसभामुख बबिताकुमारी राउत ईशरले त्यसको प्रतिवाद गर्दै कारबाही बदर भएको सूचना निकालेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij