२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गरेका छन् ।
संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गर्दै दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध गरेको छ ।
सचिवालयले भनेको छ, “निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो, कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्याइएको हो, यो कुनै अलग संरचना होइन, विधानबमोजिम संरचना बनाउन बाँकी छ ।”
पार्टी संयोजक र सह-संयोजकबाहेक सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने संयोजक दाहालको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij