Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भेण्टिलेटर अभावमा अस्पताल खोज्दा–खोज्दै कोरोना संक्रमितको मृत्यु

भेण्टिलेटर अभावमा अस्पताल खोज्दा–खोज्दै कोरोना संक्रमितको मृत्यु


  • 5.5K
    Shares

    भेण्टिलेटर अभावमा अस्पताल खोज्दा–खोज्दै कोरोना संक्रमितको मृत्यु

    राजविराज । भेण्टिलेटर अभावमा अस्पताल खोज्दा–खोज्दै सप्तरीको राजविराजका एक कोरोना संक्रमितको मृत्यु भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बुधबार भर्ना भएका राजविराज नगरपालिका–९ गढियाका ३८ बर्षीय पुरुषको भेण्टिलेटर अभावमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    सप्तरीमा भेण्टिलेटरसहितको अस्पताल नभएपछि संक्रमितलाई धरान र विराटनगरस्थित अस्पतालहरूमा भर्नाका लागि बेडको खोजी गर्दा गर्दै ढिलो भएको अस्पतालका सुचना अधिकारी सुर्यकान्त झाले बताए । राजविराजस्थित अस्पतालमा भेण्टिलेटरको सुविधा नभएकाले बिरामीलाई रेफर गरेपछि सुविधासहितको अस्पतालका लागि संक्रमित परिवारले निकै प्रयास गर्‍यो । बेड खाली भएपछि भर्ना लिन तयार रहेको खबरपश्चात विराटनगरस्थित ग्रिन सिटी अस्पताल लैजादै गर्दा बाटोमै संक्रमितको मृत्यु भएको मृतक परिवारका सदस्यले बताए ।

    'एम्बुलेन्समा पर्याप्त अक्सिजन थिएन, अस्पतालले अक्सिजन दिन असमर्थता जनाए पछि निजी सिलिण्डर खोज्नमा नै दुई घण्टा व्यतित भयो ।' राजविराज–९ का रामु यादवले भने, 'एक जना बृद्ध गाउँले आफन्तले प्रयोग गरिरहेको सिलिण्डर लिएर गएकोमा अस्पताल पुर्‍याउन तीन किलोमिटर बाँकी रहदा त्यो पनि सकियो र मृत्यु भयो ।'

    स्वास प्रस्वासमा समस्या आएपछि बुधबार बिहान आकस्मिक कक्षमा भर्ना गर्दा उनको अक्सिजनको मात्रा ५ देखि १० प्रतिशत मात्र रहेको चिकित्सकहरू बताउँछन् । अस्पताल प्रशासनकाअनुसार तत्काल एण्टिजेन विधिबाट कोरोना संक्रमित पुष्टि भएपछि अस्पतालमै सञ्चालित २५ बेडको एचडियु व्यवस्थासहितको आइसोलेशन केन्द्रमा सारियो । आइसोलेशनमा भर्ना रहेका एक संक्रमित व्यक्तिले अन्य संक्रमितका लागि बेड खाली गर्दै होम आइसोलेशनमा बस्न गए पछि उनलाई साढे ११ बजे आकस्मिक कक्षबाट आइसोलेशन केन्द्रमा सारिएको परिवारका सदस्यले जानकारी दिए । अस्पतालका निमित्त प्रमुख डां रणजितकुमार झा भन्छन्–‘सम्भव सबै प्रयास गर्दा पनि संक्रमित विरामीको अक्सिजनको मात्रा ३० प्रतिशत भन्दा माथि नबढे पछि भेण्टिलेटरसहितको अस्पतालका लागि रेफर गर्‍यौ ।’

    जिल्लामा पछिल्लो समय कोभिड–१९ का बिरामी दैनिक बढदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोभिड–१९ को दोस्रो लहरमा ११ दिनको अवधिमा सप्तरीका ११ जनाको मृत्यु भएको र सक्रिय संक्रमितको सङ्ख्या ५ सय १३ पुगेको छ । जिल्लामा कञ्चनरुप, बोदे बर्साइन, हनुमाननगर कंकालिनी, राजविराज, सप्तकोशी, खडक नगरपालिकालगायतले आइसोलेशन केन्द्र बनाए पनि त्यहाँ पर्याप्त उपचारको सुविधा छैन । 

    जिल्लामा रहेका अस्पतालहरू र आइसोलेशनहरूमा आइसीयू र भेण्टिलेटर नहुँदा कडा खालका संक्रमितको उपचार सम्भव नरहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. झाले बताए । अस्पतालका सुचना अधिकारी सुर्यकान्त झाका अनुसार अस्पतालमा एकैचोटी उपलब्ध चारओटा भेन्टिलेटरमा अक्सिजन कन्सन्ट्रेटर सेन्सरमा प्राविधिक गडबडी भएका कारण र एनेस्थेसिया डाक्टर समेत संक्रमित भएकाले उपयोगविहिन छ । ‘केही भेन्टिलेटरको अक्सिजन कन्सन्ट्रेटरमा प्राविधिक समस्या देखिएको छ,’ सुचना अधिकारी झाले भने, ‘हामी यो समस्या समाधान गर्न लागिरहेकै बेला एनेस्थेसिया डाक्टर, अहेव र नर्स समेत संक्रमित भए ।’ प्राविधिक समस्या समाधान भए र आवश्यक जनशक्ति उपलब्ध भए मात्र भेन्टिलेटरहरू सञ्चालनमा आउन सक्ने झाले बताए । हाल अस्पतालका २ डाक्टर, १ अहेव र ९ नर्सहरू समेत संक्रमित रहेको उनले जानकारी दिए । 

    भेन्टिलेटर चलाउने मात्र होइन, अन्य स्वास्थ्यकर्मीको पनि अभाव रहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट झाको भनाई छ । प्रशासनले प्रदेश–२ को सरकारसँग आवश्यक जनशक्ति पूर्ति गरिदिन लिखित माग गरिसकेको छ । तर, प्राप्त हुन सकेको छैन ।

    सप्तरीका थप १ महिला र १ पुरुषको समेत मङ्गलबार मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि बैशाख २० गतेदेखि होम आइसोलेशनमा बसेकी कञ्चनरुप नगरपालिका–८ की ६५ वर्षीया महिलाको साँझ अक्सिजनको कमीका कारण मृत्यु भएको स्वास्थ्य शाखा कञ्चनरुपका सहसंयोजक डम्बर गुप्ताले बताए । होम आइसोलेशनमा बस्दै आएकी महिलामा क्रमिक सुधार हुँदै गए पनि अचानक अक्सिजनको मात्रा कमी भएर अस्पताल ल्याउने क्रममा मृत्यु भएको गुप्ताले जानकारी दिए । नगरपालिकाको एम्बुलेन्स विराटनगर गएका बेला अन्य एम्बुलेन्स उपलब्ध हुन ढिला भएपछि उनलाई समयमै अक्सिजन सुविधा भएको आइसोलेशन केन्द्र पुर्‍याउन नसकिएको परिवारका सदस्यले जनाए । 

    त्यसअघि मुटुमा समस्या भई स्वासप्रस्वासमा समस्या आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवाका ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए लगत्तै बिहान १० बजे मृत्यु भयो । कोभिड–१९ को दोस्रो लहरमा सप्तरीका दुई महिलासहित ११ जनाको ११ दिनको अवधिमा मृत्यु भएको छ । सप्तरीमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ भने सक्रिय संक्रमितको सङ्ख्या ५ सय नाघेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    संक्रमणको दर बढदै गएकाले स्थिती भयावह बन्नु अघि नै सप्तरीमा अक्सिजन प्लाण्ट  र आइसियुसहित भेण्टिलेटर सञ्चालनका लागि सबै सरोकारवाला केन्द्रत हुनुपर्ने स्थानीय शिवकान्त सुमनले बताए ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १४:१९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij