Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

मौसम पूर्वानुमान

शनिबारसम्म भारी वर्षा र बाढी आउने चेतावनी, सतर्क बस्न सरकारको आग्रह

शनिबारसम्म भारी वर्षा र बाढी आउने चेतावनी, सतर्क बस्न सरकारको आग्रह


  • 981
    Shares

    शनिबारसम्म भारी वर्षा र बाढी आउने चेतावनी, सतर्क बस्न सरकारको आग्रह

    काठमाडौं । बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको प्रभावले शुक्रबार (आज) र शनिबार (भोलि) बागमतीसहित तीनवटा प्रदेशमा भारी वर्षा र बाढी पाहिरोको जोखिम बढेको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ ।

    मोन्था चक्रवातको प्रभाव

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारबाट नेपालको मनसुनमा बदली सुरु भएको र यो क्रम शनिबार (भोलि)सम्म कायम रहनेछ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा मध्यम वर्षा भए पनि शुक्रबार (आज)बाट भारी वर्षाको सम्भावना छ ।

    १३ देखि १५ कात्तिकसम्म कोशी, मधेश र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने विभागको भनाइ छ । लुम्बिनी प्रदेशका नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भएर बग्ने ससाना नदीमा बाढी आउने चेतावनी विभागले दिएको छ ।

    शुक्रबार (आज) र शनिबार (भोलि) कोशी मधेश र बागमती प्रदेश भएर बग्ने नदीमा बाढीले सतर्कताको तह पार गर्ने चेतावनी विभागको छ ।

    बीपी राजमार्गमा दुई रात सवारी निषेध

    बीपी राजमार्गमा दुई रात सवारीसाधन नचल्ने भएका छन् । वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको खुर्कोट––धुलिखेल खण्डमा बिहीबार रातिदेखि दुई दिन यातायात सञ्चालनमा रोक लगाएको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार (आज) र शनिबार (भोलि) देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै प्रशासनले राती सवारी चलाउन रोक लगाएको हो ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा सिन्धुली जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै सवारीसाधन र यात्रुलाई सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगाउनका लागि विशेष सावधानी अपनाउन आवश्यक रहेको उल्लेख छ ।

    आधार शिविरवाट पर्यटकको उद्धार, भ्रमणमा रोक

    हिमपातका कारण समस्यामा परेका १७ जना विदेशीसहित ७२ जना पर्यटकलाई सुरक्षाकर्मीको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार गरेको छ ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटक वर्षा र हिमपातका कारण पैदलमार्ग पुरिएपछि फर्कन नसकेर समस्यामा परेका थिए ।

    प्रहरी नायब उपरीक्षक लिलाबहादुर भुजेलले १७ विदेशीसहित ७२ जना पर्यटकलाई आधार शिविरबाट उद्धार गरेर बिहीबार बिहान हुमखोला झारिएको र उनीहरू सकुशल रहेको जानकारी दिए ।

    अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग खाली बनाएर सबै पर्यटकलाई सकुशल सुरक्षित स्थानमा ल्याइएको भुजेलले बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमको आँकलन गरेर सोमबारदेखि शुक्रबार (आज)सम्म अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको बताए ।

    खोप्रालेक, घोडेपानी, पुनहिल, मोहरेडाडालगायत क्षेत्रको भ्रमणमा नजान र सतर्कता अपनाउन प्रशासन तथा अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत अपिल गरेका छन् । यसैगरी, म्याग्दीको धवलागिरि–४ मुदीमा पर्ने धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा समुन्द्री सतहदेखि ५ हजार १ सय मिटर उचाइको ‘हिडन भ्याली’मा समस्यामा परेका तीन जना बेलायतका महिला पर्यटक र १२ जना नेपाली पथप्रदर्शक तथा मजदुरको उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।

    माथिल्लो मनाङमा हिमपात, ५५० बढी पर्यटक रोकिए

    मनाङको माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेसँगै जनजीवन प्रभावित भएको छ । हिमपातका कारण विद्युत् सेवा अवरुद्ध छ । टेलिकमको टावरले पनि बेलाबेलामा काम नगर्दा जनजीवन झनै कष्टकर भएको छ ।

    वर्षा र हिउँका कारण ३ सय विदेशीसहित साढे ५ सय पर्यटक मनाङमै रोकिएको राजधानीकर्मी नवराज पहाडीले जनाएका छन् । माथिल्लो मनाङको अस्थायी प्रहरी पोस्टका प्रमुख प्रहरी हबलदार अशोक सापकोटाले बताए अनुसार आफ्नो कमान्डमा सात जनाको प्रहरी टोल यहाँ रहेको र पर्यटकहरू तथा गाउँलेहरूका आवश्यक सूचना संकलन गर्ने र विपद्मा परेकालाई आवश्यक सहयोगको कार्य जारी राखिएको छ ।

    उनका अनुसार तिलिचो बेस क्याम्पमा फसेका २५ जना पर्यटकलाई निसाङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले घोडा पठाएर उद्धार गरेका छन् ।

    मकालु पदमार्गमा रोक

    संखुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिला प्रशासन कार्यालय संखुवासभाले एक सूचना प्रकाशित गर्दै १५ कात्तिक शनिबारसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रमा पदमार्गमा यात्रा नगर्न प्रशासनले अनुरोध गरेको हो ।

    मंगलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो । १५ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरिएको संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।

    उत्तरी क्षेत्रको ४ हजारभन्दा माथि हिमपात भइरहेका कारण चिसो बढेको, खाद्यान्य र अन्य अत्यावश्यक सामग्रीसमेत अभाव हुनसक्ने भएका कारण मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रमा पदमार्गमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रजिअ थपलियाले बताए ।

    मकालु आधार शिविरमा नेपालीसहित २ सय बढी पर्वतारोही मकालु आधार शिविरमा रहेको प्रशासनले जनाएको छ । विदेशी नागरिक करिब ७० जना र नेपाली पर्वतारोही पनि ६०–७० जनाको संख्या अहिले मकालु आधार शिविरमा छन् ।

    धनकुटामा उच्च सतर्कता, विद्यालय बन्द
    जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लावासीलाई बिहीबारदेखि शनिबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    धनकुटाको पाख्रीबास नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय १४ देखि १८ कात्तिकसम्म बन्द हुने भएका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्नुपर्ने आवश्यकता देखिएको नगरप्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - ०६:२४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij