२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । मोन्था चक्रवातको प्रभावका कारण भारी वर्षा र बाढी पहिरोको जोखिम मूल्यांकन गर्दै बीपी राजमार्ग रातको समयमा बन्द गरिएको छ । सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले बीपी राजमार्ग भएर काठमाडौंतर्फ जाने सवारी साधनलाई रोक लगाएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ गतेदेखि १५ गतेसम्म यस क्षेत्रमा भारी वर्षाको सम्भावनाको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले कात्तिक १३ र १४ गतेका लागि बेलुका ७ बजेदेखि बिहान ९ बजेसम्म सिन्धुलीको खुर्कोटबाट काठमाडौंतर्फ जाने सबै प्रकारका सवारी साधनको आगमनमा पूर्ण रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले एक सूचना जारी गर्दै वर्षात र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिम हुन सक्ने मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि उक्त समयमा सवारी आगमनमा निषेध गरिएको छ ।
विशेष गरी बीपी राजमार्ग र मध्य पहाडी राजमार्गमा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन पनि सम्पूर्ण चालक तथा यात्रुहरूमा अनुरोध गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij