२०८२ भाद्र २ गते सोमवार
एजेन्सी । पौराणिक गाथामा धन्वन्तरिको जन्मवृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्रमन्थनसँग सम्बद्ध देखापर्छ । समुद्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको हो । उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरि’ पनि हो । उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ । त्यसबाहेक परम्पराअनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई इङ्गित गरी एउटा दियो बाली घरको मूल दैलोमा राखिन्छ, उनलाई घर भित्र नपस्न र कसैलाई दुःखकष्ट नपुर्याउन अनुरोध र पूजा गरिन्छ । यस धार्मिक मान्यताले आममनुष्यको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ ।
प्रत्येक वर्ष तिहारको प्रारम्भमा नै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ । जसबमोजिम एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए । विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् ।
विवाहको ठिक चार दिनका दिन उनले आफ्न पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफु स्वयं सँगै बसेर पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँदै आफ्नो लोग्नेलाई निद्रा नआओस् भनेर भुल्याउन थालिन् । रात्रीकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु पर्यो ।
बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठामिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए । ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो । यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् । यसै घटना पछि मानिसहरूले आफ्नो घरका सद्स्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ । यस कर्मको प्रतीकात्मक अर्थ हो- पारिवारिक सुख र सुस्वास्थ्य । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ ।
धनतेरस भनिने कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ। हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ । रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफुलाई गाँसेको पनि देखिन्छ। यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द अभिबृद्धि गर्न खोज्छन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरीद गरी यस पर्वलाई मनाउने गर्दछन् । सारांशमा आआफ्ना सामर्थ्य-अनुकूल समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउने चलन छ ।
धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । धनतेरसको दिन सामानहरु किन्ने र दीपदान गर्ने दिन अर्थात् धनतेरस पर्व साथै काग तिहार पनि हो । यस दिन विभिन्न वस्तु घरमा भित्र्याउनाले वर्षभर धनको कमि नहुने धार्मिक मान्यता रहेको छ। जानेर बुझेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ नछोड्ने विश्वास पनि रहेको छ । ज्योतिष शास्त्रीहरुका अनुसार धनतेरसमा निम्न उल्लेखित वस्तुहरु कसैलाई थाहा नदिइ घरमा भित्राउदा आर्थिक लाभ हुने गर्छ।
धनियाका दाना– धनियामा लक्ष्मी माताको कृपा रहने मान्यता रहेको छ। यसै कारण धनतेरसको दिन घरको बगैंचा गमला आदि स्थानमा कसैलाई थाहा नहुने गरी धनियाको दाना छर्दा लक्ष्मी प्रसन्न हुने गर्छिन्।
गरगहना-आभूषण – यस दिन आभूषण तथा गहना खरिद गर्नको लागि धेरै शुभ मानिन्छ । अझ कसैलाई पनि थाहा नदिई किनेको गरगहना-आभूषण झनै शुभ हुने मान्यता रहेको छ। यसरी खरिद गरेको गरगहना – आभूषणलाई लक्ष्मीलाई अर्पित गर्दै धन बढेर जाने मान्यता रहेको छ।
शंख– शंखलाई हिन्दु धर्ममा छुटै स्थानमा राखिने गरिन्छ। शंखलाई घरमा राख्नाले लक्ष्मी प्रसन्न हुने र शंक बजाउँदा धर शुद्ध हुने मान्यता रहेको छ। धनतेरसको दिन कसैलाई पनि थाहा नहुने गरी घरमा नयाँ शंख ल्याएर लक्ष्मीलाई अर्पित गर्नाले लक्ष्मी प्रसन्न हुने गर्छिन् र धनको कहिलै पनि कमि हुँदैन।
झाड़ू– घर शान्त, सफा साथै उज्यालो भएको अवस्थामा मात्रै लक्ष्मीको वास हुने मान्यता रहेको छ। यस कारण धनतेरसको दिन नयाँ झाडुले घर सफा गरेको शुभ हुन्छ। झाड़ू खरिद गरी कसैले नदेख्ने गरि नयाँ झाड़ूले घर सफा गरेमा लक्ष्मीको अनुग्रह मिल्न सक्छ।
नुन – धनतेरसको दिन नुन खरिद गर्ने कार्यलाई पनि धेरै शुभ मानिन्छ । यस दिन खरिद गरिएको नुन प्रयोग गर्नाले स्वास्थ्य राम्रो हुने मान्यता रहेको छ भने नुन खरिद गर्दा कसैलाई नदेखाएको अझ प्रभावकारी हुने गर्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij