२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ३० करोड रुपैयाँ निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम निक्षेप राख्न लागेको हो ।
केन्द्रीय बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न खोजेको हो । केन्द्रीय बैंकले उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले रकम खुलाइ गोप्य सिलबन्दी मार्फत पेस गर्न आह्वान गरेको छ ।
उक्त ३ अर्ब ३० करोडमध्ये केन्द्रीय बैंकले वाणिज्य बैंकमा २ अर्ब ६४ करोड, विकास बैंकहरूमा ४९ करोड ५० लाख र फाइनान्स कम्पनीहरूमा १६ करोड ५० लाख रुपैयाँ निक्षेप राख्ने भएको छ । यसरी निक्षेप राख्दा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई विभिन्न शर्त पनि तोकेको छ । केन्द्रीय बैंकका लागि उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुन पर्ने छ ।
कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत भन्दा धेरै नभएको हुनु पर्नेछ । बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खुद तरल सम्पत्ति अनुपात पनि कायम गरेको हुनु पर्छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनु पर्नेछ । समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनु पर्ने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij