Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

मंगलग्रहमा फेला पर्यो जीवनको थप संकेतहरु

मंगलग्रहमा फेला पर्यो जीवनको थप संकेतहरु


  • 568
    Shares

    मंगलग्रहमा फेला पर्यो जीवनको थप संकेतहरु
    images

    काठमाडौं । मंगलग्रहमा जीवनका केही थप संकेतहरू फेला परेका छन् । नासाको पर्सिभरेन्स रोभरले जेजेरो क्रेटरको ब्राइट एन्जल फर्मेसन क्षेत्रमा त्यस्ता रासायनिक–खनिज संकेतहरू दर्ता गरेको छ । वैज्ञानिकहरूले यसलाई ‘बायोसिग्नेचर’ मानिरहेका छन् । ‘बायोसिग्नेचर’ भनेको भौतिक, रासायनिक वा संरचनात्मक संकेतहरू हुन्, जसले कुन ग्रहमा कहिले जीवनको गतिविधि भएको थियो भन्ने संकेत दिन्छ ।
     
    यो जीवनको निश्चित प्रमाण होइन । तर, यदि यो प्रमाण सूक्ष्मजीवहरूसँग जोडिएको पाइएमा यो इतिहासको ठूलो खोज सावित हुन्छ । ब्राइट एन्जल फर्मेसन जेजेरो क्रेटरको मसिनो चट्टानहरूले भरिएको क्षेत्र हो । यी चट्टानहरू अरबौँ वर्ष पहिले बग्ने पानीबाट बनेका थिए । यहाँ रोभरले आइरन अक्साइड, फस्फोरस, सल्फर र विशेषगरी जैविक कार्बन फेला पारेको छ ।
     
    जैविक कार्बन जीवनको आधार हो । अनुसन्धानमा धेरै अनौठा आकृतिहरू देखा परेका छन् । साना गोलो कणहरू (पोपी सिड्स) र धब्बेदार ढाँचा (लेपर्ड स्पोट्स)मा भिभियानाइट र ग्रेगाइटजस्ता खनिजहरू पाइन्छन्, जुन पृथ्वीमा पानीले भरिएको, कम तापक्रम भएको वातावरणमा बन्छन् ।

    खोजका दुई सम्भावना छन् । पहिलो, यी खनिज र संरचनाहरू केवल भूगर्भीय प्रक्रियाहरूबाट बनेका हुन् । दोस्रो, अरबौँ वर्ष पहिले अवस्थित सूक्ष्मजीवहरूको योगदानले बनेका हुन् । सल्फरमा आधारित संकेतहरू सामान्यतया उच्च तापक्रममा बन्ने गर्छन् । तर, यहाँ उच्च तापक्रमको प्रमाण भेटिएको छैन । यो पक्षले सूक्ष्मजीवहरूको भूमिकालाई पूर्णरूपमा अस्वीकार गर्न भने सक्दैन ।

    पर्सिवरेन्स रोभरले ब्राइट एन्जलको सेफायर क्यान्यनबाट एउटा कोर स्याम्पल (नमुना) संकलन गरेको छ । यो नमूना हाल सुरक्षित ट्युबमा राखिएको छ । वैज्ञानिकहरू यो नमूना भविष्यमा पृथ्वीमा ल्याएर उन्नत प्रयोगशालाहरूमा विश्लेषण गर्न चाहन्छन् । यसले कार्बन आइसोटोप, खनिज संरचना र सूक्ष्म जीवाश्मजस्ता संकेतहरूको जाँच गर्न सम्भव बनाउनेछ ।

    अनुसन्धाताहरूका अनुसार यो खोज जीवनको अन्तिम प्रमाण होइन । तर, यो सम्भावित बायोसिग्नेचर हो । यो एक ठूलो खोज हुनसक्छ । यसले हामीलाई पृथ्वीमा जीवनको सुरुआत कसरी भयो र ब्रह्माण्डमा कतै अरू पनि जीवन छ कि छैन भन्ने पत्ता लगाउन सहयोग गर्नेछ ।

    अरबौँ वर्ष पहिले मंगल र पृथ्वीमा समान रासायनिक प्रक्रियाहरू भइरहेका थिए । पृथ्वीमा त्यस समयमा सूक्ष्मजीवहरूले फलाम र सल्फरबाट ऊर्जा लिने गर्थे । फरक के मात्र हो भने पृथ्वीको प्लेट टेक्टोनिक्सले पुरानो चट्टानहरूको संरचना परिवर्तन गर्‍यो । मंगलग्रहमा ती सुरक्षित छन् । अध्ययन नेचर जर्नलमा प्रकाशित गरिएको छ । अर्थडटकम

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - ०९:०९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij