Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शय्या अभाव हुन थालेपछि काठमाडौंबाट कोरोना संक्रमितलाई चितवन लगियो

शय्या अभाव हुन थालेपछि काठमाडौंबाट कोरोना संक्रमितलाई चितवन लगियो


  • 5.6K
    Shares

    शय्या अभाव हुन थालेपछि काठमाडौंबाट कोरोना संक्रमितलाई  चितवन लगियो

    काठमाडौँ । काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या अभाव हुन थालेपछि हेलिकोप्टरमार्फत संक्रमितलाई चितवन ल्याउन थालिएको छ ।

    भरतपुरका अस्पतालमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ ।

    भरतपुरकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ । यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन ।

    चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौँबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एक÷एक सङ्क्रमितलाई हेलिकोप्टरबाट चितवन ल्याएको छ । शनिबार मात्रै एक सङ्क्रमितलाई काठमाडौँबाट हेलिकोप्टरमार्फत यहाँ ल्याइएको उनले जानकारी दिए ।

    एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट चितवन आउने सङ्क्रमितको सङ्ख्या ठूलो छ । ‘यसरी आउनेको यकिन तथ्याङ्क त छैन तर ठूलो सङ्ख्यामा काठमाडौँलगायतका ठूला शहरबाट सङ्क्रमित यहाँ आएका छन्,’ देवकोटाले भने ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बिरामी थाम्न मुस्किल हुन थालेको बताए । ‘अब थप बिरामी उपचार गर्न कठिन होलाजस्तो छ । सके र भएसम्म हामी जुटिरहेका छौँ,’ उनले भने ।

    चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जटिल बिरामीलाई मात्रै चितवन पठाइदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताए । आज मात्रै मकवानपुर, नवलपरासी पूर्व र पश्चिम तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यहीँ व्यवस्थापन गरी जटिल मात्रै पठाइदिन अनुरोध गरेको उनले जानकारी दिए ।

    सामान्य अवस्थाका सङ्क्रमित आएर शय्या भरिएमा जटिल बिरामीलाई उपचार दिन कठिन हुने भएकाले यस्तो आग्रह गरिएको उनको भनाई छ। जिल्लाका अन्य निजी अस्पतालले पनि आइतबारदेखि सङ्क्रमितको उपचार थाल्दैछन् । अस्पतालहरुलाई वैकल्पिक स्वास्थ्यकर्मीको टिम तयार गरेर राख्न भनिएको छ ।

    जिल्लाका अस्पतालमा कोभिडको उपचार गराउन आउने ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अस्पतालमा ३५६ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये चितवन मेडिकल कलेजमा १४९, भरतपुर अस्पतालमा १३१, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५१, क्यान्सर अस्पतालमा एक र अन्य अस्पतालमा २४ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा चितवनका विभिन्न अस्पतालमा र अस्पताल ल्याउँदै गरेको अवस्थामा १४ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा छ, चितवन मेडिकल कलेजमा दुई, कलेज अफ मेडिकल साइन्सेजमा तीन, क्यान्सर अस्पतालमा एक र राप्ती नगरपालिकाबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा एक जनाको मृत्यु भएको छ । रासस

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - ११:३५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij