२०८२ भाद्र २ गते सोमवार
चितवन । आज (शनिबार) चितवनमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनमा यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार १० जनाको मृत्यु भएको थियो ।
चितवन सदरमुकाम भरतपुरको चौबिसकोठी चोक । कोरोना संक्रमण ह्वात्तै बढेपछि जिल्लामा निषेधाज्ञा लागेका कारण चहलपहल कम छ । चितवन स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार चितवनका अस्पतालहरुमा १२ जनाको मृत्यु भएको हो भने एकजनाको घरमै र एकजनाको बाटोमा ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृत्यु भएकामध्ये आठजना चितवन जिल्लाका संक्रमितहरु हुन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुरको सरकारी अस्पतालमा उपचार गराइ रहेकामध्ये ६ जनाको मृत्यु भएको छ । तीमध्ये चारजना चितवनका हुन् । दुईजना नवलपुरका रहेको कार्यालयले जनाएको छ । भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा चितवन, नवलपरासी र दाङका एकरएकजना गरेर कूल तीनजना संक्रमितको ज्यान गएको छ ।
चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण अस्पतालमा अर्घाखाँची र चितवनका एक/एक जना संक्रमितको ज्यान गएको छ । भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि जनकपुरका एकजनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । अस्पताल बाहेक पनि उपचारका लागि ल्याउँदै गर्दा राप्तीका एकजना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी माडीमा एकजना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार चितवनमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुने व्यक्तिको संख्या हालसम्म १३७ पुगेको छ । भरतपुरका अस्पतालमा उपचार गराउन आउँदा मृत्यु भएका चितवन बाहिरका संक्रमितहरुको संख्या यसमा समावेश छैन । चितवनमा शनिबारसम्म निको हुन बाँकी जिल्लाकै मात्र संक्रिय संक्रमितको संख्या दुई हजार ३०७ पुगेको छ । चितवनमा वैशाख १ गते संक्रिय संक्रमित जम्मा ९६ जना थिए ।
चितवनका १६४ र बाहिरी जिल्लाका समेत गरेर यहाँका अस्पतालमा शनिबार दिउँसोसम्म ३५६ जना संक्रमितहरुको उपचार भइरहेको चितवन स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जसमध्ये १४७ जना आईसीयु र २९ जना भेन्टिलेटरमा छन् । ६४ जना एचडीयूमा छन् । ११६ जना साधरण बेडमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij