२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी)हरूलाई निर्देशन दिएको छ।
मन्त्रालयको निर्देशनअनुसार ती २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आइएसपीहरूलाई बिहीबार नै निर्देशन दिइसकेको प्राधिकरणका कार्यकारी निर्देशक मीनप्रसाद अर्यालले बताएका छन् । मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनभित्र दर्ता वा सूचीकरण गर्न निर्देशन दिएको थियो।
मन्त्रालयले भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई सम्पर्क गर्न आह्वान गरेको थियो। तर तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण भए लगत्तै पुनःसक्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।
मन्त्रालयका अनुसार अनिच्छित सामग्रीको मूल्याङ्कन र अनुगमन सुनिश्चित गर्न सूचीकरण अनिवार्य गरिएको हो। सरकारको निर्णयसँगै नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरू तत्काल सम्पर्कमा आएर सूचीकरण प्रक्रिया पूरा गर्नुपर्ने भएको छ।
नेपालमा भाइबर, टिकटक, विटक र निम्बजजस्ता सामाजिक सञ्जाल सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा छन् । उता धेरै प्रयोगकर्ता व्यस्त रहने फेसबुक, ट्वीटर (एक्स) र वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा आएका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij